झुप्रोमा बस्दै आएका भुईकटहरेको परिवार नयाँ घरमा
उर्लाबारी, मंसिर १२
त्रिपालको छाना लगाएर बनाइएको सानो झुप्रोमा कठिन तरिकाले जीवनयापन गर्दै आएका १० बर्षे बालक टिकाराम धिमाल भुईकटहरेको परिवारलाई नयाँ घरमा सारिएको छ ।
झापाको दमक–२ मा अर्काको जग्गामा त्रिपाल लगाएर कठिन तरिकाले बसोबास गर्दै आएका भुईकटहरेका वुवा रामबहादुर धिमाल, आमा सीता धिमालसहित स–परिवारलाई आज नयाँ घरमा भित्र्याइएको हो । दमक–३ को डिपुमा १० धुर जग्गा खरिद गरी करिब ८ लाख रुपैयाँको लागतमा तीन कोठे पक्की घर निर्माण गरी हस्तान्तरण गरिएको हो ।

उर्लाबारीका समाजसेबी पूर्ण वाइबाको नेतृत्वमा निर्माण गरिएको उक्त घर धिमाल जातिय विकास केन्द्रका केन्द्रीय अध्यक्ष तेजबहादुर धिमालले भुईटहरे निवासको उद्घाटन गर्नुभएको छ । गाउँमा जनमन गर्दै जिविकोपार्जन गर्दै आएका धिमाल परिवार घर पाएपछि हर्षित बनेका छन् । भुईकटहरेकी कान्छी बहिनी बबिता, जेठी दिदी पवित्रा धिमाल र माहिली कविता हुन् । पवित्रा कक्षा १० र कविता ८ मा मामाघरमा बसेर पढ्दै आएका थिए । बबिता भने स्कुल गएकी छैनन् ।
भुईकटरे भने उर्लाबारी–७ स्थित बेथेल एजुकेशन एकाडेमीमा अध्ययरत छन् । उनलाई विद्यालयका प्रिन्सिपल दिपक न्यौपानेले निःशुल्क पढ्ने ब्यवस्था मिलाएका हुन् । घर हस्तान्तरण कार्यक्रममा स्थानीय कलाकारहरुले नृत्यसमेत प्रस्तुत गरेका थिए । धिमाल समूदायका अगुवालगायको उपस्थिति रहेको थियो । घर निर्माण समितिका अभियान्ता एबं सचिब विजय धिमालले स्वागत एबं आर्थिक प्रतिवेदन पेश गरेका थिए भने सञ्चार क्लब नेपालका पूर्व अध्यक्ष घनश्याम भण्डारीले कार्यक्रम सञ्चालन गरेका थिए ।
प्रकाशित मिति: १२ मंसिर २०७५, बुधबार












