अन्तर्राष्ट्रिय अपांग दिवसमा प्रधानमन्त्रीको शूभकामना
काठमाडौँ, मंसिर १७
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान, नीति र कानूनमा अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा, पुनःस्थापना, सहभागिता र समावेशीकरणलाई प्राथमिकतामा राखिएको बताउनुभएको छ ।
सत्ताइसौँ अन्तर्राष्ट्रिय अपाङग दिवसका उपलक्ष्यमा आज शुभकामना सन्देश दिँदै उहाँले अपाङ्गता भएका व्यक्तिको राज्यप्रदत्त सेवा सुविधा र अवसरलगायत जनलक्षित हरेक कार्यक्रममा समान पहुँच हुनै पर्दछ, उनीहरुले पनि अरुसरह लाभान्वित हुन पाउनै पर्दछ भन्ने मान्यतामा नेपाल सरकार प्रतिबद्ध रहेको जनाउनुभएको छ ।
“अपाङ्गता भएका व्यक्ति विभेद र अवरोधका कारण क्षमता हुँदाहुँदै पनि समाजको सक्रिय नागरिकका रूपमा जीवनका हरेक क्षेत्रमा सहभागी हुनसक्ने विगतको अवस्थामा परिवर्तन ल्याउन वर्तमान सरकार अग्रसर भइसकेको छ”, सन्देशमा भनिएको छ ।
सन्देशमा नेपालमा अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि, २००६ को पक्ष राष्ट्र भएको उल्लेख गर्दै सरकारले उक्त महासन्धिको धारा ९ लाई कार्यान्वयन गर्ने क्रममा सार्वजनिक संरचना र सूचना तथा सञ्चार प्रणालीमा अपाङ्गता भएका व्यक्तिको पहुँच सुनिश्चित गर्न आवश्यक नियम र मापदण्ड लागू गरिसकेको उल्लेख गरिएको छ । रासस
प्रकाशित मिति: १७ मंसिर २०७५, सोमबार












