आज बाला चतुर्दशी, पितृको सम्झनामा शतबीज छरिँदै



काठमाडौँ,मंसिर २०

आज बाला चतुर्दशी । पितृको सम्झनामा शतबीज छरि पितृउद्धार गर्ने दिन । आजको दिनलाई कृष्ण चतुर्दशी पनि भनिन्छ । बालाचतुर्दशी नेपालमा मनाइने एक परम्परागत पर्व हो । जुन विभिन्न मन्दिरहरूमा शतबीज (शतबीउ) छरेर मनाईन्छ ।

सनातन हिन्दू धर्म अन्तर्गत पर्ने थुप्रै चाडपर्व मध्ये बालाचतुर्दशी पर्वको छुट्टै एवं विशिष्ट महत्त्व रहेको पाइन्छ । प्रत्येक वर्षको हेमन्त ऋतुको मार्गकृष्ण चतुर्दशीमा पर्ने बालाचतुर्दशी पर्वलाई शतबीज रोपण पर्व पनि भनिन्छ । यो पर्व विशेषगरी पितृहरूको उद्धारको निम्ति उनीहरूको सम्झनामा मनाइन्छ ।

मार्गकृष्ण त्रयोदशीको साँझमा उपत्यकाको पशुपतिनाथ लगायत अधिराज्यका अन्य शिवालयमा दीप प्रज्वलन गरी रातभरि जाग्राम बसी भोलिपल्ट अर्थात चतुर्दशीको दिन शतबीज रोपण गरिन्छ ।

त्रयोदशीको राति दिवङ्गत पितृको सद्गतिको कामना गर्दै देशभरका शिवालयहरुमा महादीपदान गर्ने चलन रहेको छ । सोही अनुसार गएराति पनि पशुपतिलगायत देशभरिका शिवालयमा भक्तजनको ठूलो भीड लागेको छ ।

प्रकाशित मिति: २० मंसिर २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्