अन्तरप्रदेश परिषद् बैठक आज बस्दै, के छन् त मुख्यमन्त्रीका गुनासा ?



काठमाडौँ, मंसिर २३

अन्तरप्रदेश परिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरप्रदेश परिषद्को बैठक आह्वान गर्नुभएको हो । मुलुकमा सङ्घीय शासन प्रणाली व्यावहारिकरुपमा कार्यान्वयमा आएपछि भए गरेका काम कारवाहीको समीक्षाका लागि उक्त परिषद्को बैठक बोलाइएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालका अनुसार सङ्घीय शासन प्रणाली अवलम्बनका क्रममा भए गरेका काम कारवाहीको विषयमा बैठकमा समीक्षा हुनेछ । बैठकमा सातवटै प्रदेशका मुख्यमन्त्रीले आ–आफ्ना प्रदेशमा भए गरेका कामका बारेमा जानकारी गराउने कार्यक्रम छ । बैठकमा गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री डा युवराज खतिवडा सहभागी हुनुहुनेछ ।

सातवटै प्रदेशका मुख्यमन्त्रीले आ–आफ्नो प्रदेशको काम कारवाही र समस्याका बारेमा जानकारी गराएपछि प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । नेपालको संविधानको धारा २३४ ले अन्तरप्रदेश परिषद्को व्यवस्था गरेको छ ।

सङ्घ र प्रदेशबीच, प्रदेश–प्रदेशबीच राजनीतिक विवाद समाधान गर्न परिषद्को व्यवस्था गरिएको हो । बैठकमा सङ्घीय सरकार र प्रदेश सरकारको काम कारवाहीलाई कसरी समन्वय गर्ने र कसरी नजिता निकाल्ने विषयमा समेत छलफल हुनेछ ।

कुनै विषयमा विवाद भएको अवस्थामा त्यो विषयसँग सम्बन्धित नेपाल सरकारका मन्त्री र सम्बन्धित प्रदेशका मन्त्री तथा विशेषज्ञलाई आमन्त्रण गर्न सक्ने व्यवस्थासमेत रहेको छ । यस्तै अन्तर प्रदेश परिषद्को बैठकसम्बन्धी कार्यविधि सो परिषद् आफैँले निर्धारण गरेबमोजिम हुने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News