चीनले केरुङ–काठमाडौं रेलमार्ग प्रतिवेदन सरकारलाई बुझायो


 


काठमाण्डौँ, मंसिर २४

चीनले केरुङ–काठमाडौं रेलमार्ग निर्माणसम्बन्धी प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ ।काठमाडौंमा आज आयोजित नेपाल–चीन रेल्वे कोअपरेशन कमिटीको तेस्रो बैठकमा चीनले सो प्रतिवेदन नेपाल सरकारलाई बुझाएको हो ।

भौतिक तथा पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारी र नेशनल रेल्वे अथोरिटी चीनका उपप्रशासक आन लुसुङ नेतृत्वको सो कमिटीको बैठकमा चिनियाँ पक्षले नेपाललाई केरुङ–काठमाडौं रेलमार्ग निर्माणसम्बन्धी प्रतिवेदन बुझाएको छ ।

केरुङ–काठमाडौं रेलमार्ग निर्माणसम्बन्धी चीनले आफूले तयार पारेको प्रारम्भिक प्रतिवेदन नेपाल सरकारलाई बुझाएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव अधिकारीले जानकारी दिनुभयो । बैठकमा दुवै पक्षबीच सो प्रतिवेदनमा आधारित भएर विस्तृत अध्ययन प्रतिवेदन तयार पार्ने विषयमा पनि छलफल गरिएको छ ।

बैठकले काठमाडौं–पोखरा रेलमार्ग क्षेत्रको स्थलगत भ्रमण चिनियाँ पक्षले गर्ने निर्णय पनि गरेको छ । त्यसका लागि आन नेतृत्वको चिनिया उच्चस्तरीय टोली भोली रसुवा र बुधबार पोखरा जाने कार्यक्रम पनि तय भएको सचिव अधिकारीले बताउनुभयो । एक सय ७१ किलोमिटर लामो प्रस्तावित काठमाडौं–पोखरा रेलमार्ग निर्माणका लागि चीनको सरकारी कम्पनी सिएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडले यस अघि नै सम्भाव्यता अध्ययन गरिसकेको छ ।

नौ वर्ष भित्र निर्माण सम्पन्न गरिसक्ने योजना रहेको सो रेलमार्ग निर्माणका लागि २ खरव ५७ अरव बजेट लाग्ने अनुमान गरिएको छ । यता, केरुङ–काठमाडौं रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार पार्न ढिलाई नगर्न पनि दुवै पक्ष सहमत भएका छन् ।

प्रकाशित मिति: २४ मंसिर २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्