६८ औं मुक्ति दिवस : जननायक रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणाको माग


 


काठमाडौँ, मंसिर २४
आज मंसिर २४ अर्थात् मुक्तिदिवस । तत्कालीन जहानियाँ राणाशासनविरोधी आन्दोलनमा मुक्तिसेनाका कमान्डर भोजपुरका रामप्रसाद राईको कमान्डमा राणाफौजबाट भोजपुरलाई बिना रक्तपात मुक्त गरेको दिन ।

सोही दिनको स्मरणमा सोमबार रामप्रसाद राई स्मृति प्रतिष्ठान, काठमाडौँ र नेपाल डोरीतान संघद्वारा संयुक्त रुपमा लगनलखेलस्थित राजदल गणको खेलमैदानमा उपत्यकाव्यापी माध्यमिक विद्यालयस्तरीय डोरीतान प्रतियोगिताको आयोजना गरियो ।

उक्त प्रतियोगिताको डोरी तानेर उद्घाटन गर्दै प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले खेल र खेलाडीहरूको सम्मान र किास गर्दै देशमा अनुशासित नागरिक तयार पारिने बताउनुभयो । उक्त अवसरमा मुख्यमन्त्री राईले जननायक रामप्रसाद राईहरूकै कारण आजको परिवर्तन संभव भएको धारणा राख्नुभयो ।

यसै गरी सांसद विशाल भट्टराईले प्रजातन्त्र, लोकतन्त्र र संघीय गणतन्त्रका स्वप्नदर्शी जननायक रामप्रसाद राईलाई सरकारले राष्ट्रिय विभूति घोषणा गरी सम्मान दिनुपर्ने माग राख्नुभयो । उहाँले डोरीतान खेललाई राष्ट्रिय खेल बनाउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाले ऐतिहासिक दिनको स्मरणमा डोरीतान खेल आयोजना गरिनु महत्वपूर्ण कार्य भएको उल्लेख गर्नुभयो ।

संघका अध्यक्ष तथा जया मल्टिपल कलेजका प्राचार्य भवानीप्रसाद पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका कार्यबहाक अध्यक्ष देवीप्रसाद घिमिरे र महासचिव देवान राईले कार्यक्रमको उद्देश्य र प्रतिष्ठानका गविधिबारे प्रकाश पार्नुभएको थियो ।

डोरीतान खेल प्रतियोगितामा जम्मा ५३ वटा टिमले भाग लिएका थिए । जसमा छात्रातर्फ २३ टिम र छात्रतर्फ ३० टिम सहभागी थिए । छात्रातर्फको प्रतिष्पर्धामा जनप्रेमी स्कुल भक्तपुर पहिलो, निर्मल स्कुल ललितपुर दोस्रो र नेक्सस इन्टरनेश्नल स्कुल काठमाडौँले तृतीय पुरस्कार प्राप्त गरेका थिए ।

यसै गरी छात्रतर्फको स्पर्धामा नोबल एकेडेमी काठमाडाँै पहिलो, चाणक्य स्कुल भक्तपुर दोस्रो र हिमालय स्कुल काठमाठौँ तेस्रो भएका थिए । विजेता टोलीलाई पदक, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको थियो । राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. शिवकुमार राई र सभाध्यक्ष पौडेलले पुरस्कार प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा जननायक रामप्रसाद राईकी छोरी कृष्णकुमारी राईले आमा चन्द्रकुमारी राई र दिदी बालकुमारी राईको नाममा अक्षय कोष स्थापनार्थ प्रतिष्ठानलाई एक लाखको चेक हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा राखेपकी सदस्य इन्दिरा निरौला, युवा संघका अध्यक्ष रमेश पौडेललगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई ज्ञानोदय बालबाटिका, जया मल्टिपल कलेज, नबिल बैँक र मेरो कन्सलटेन्सीले प्रायोजन गरेका थिए । नेपाली सेना राजदल गणले खेलमैदान निःशुल्क उपलब्ध गराएको थियो ।

प्रकाशित मिति: २४ मंसिर २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्