मिस धिमालको दोस्रो संस्करण हुने


 


उर्लाबारी, मंसिर २६

पूर्वी नेपालको तराई भेगमा बसोबास गर्दै आएका अल्पसंख्यक धिमाल समूदायका युवतीहरुको प्रतिभा उजागर गर्ने उदेश्यले दोस्रो मिस धिमाल – २०१९ हुने भएको छ ।

आयोजक धिमाल विद्यार्थी मञ्चले आज उर्लाबारीमा पत्रकार सम्मेलन गरी मिस धिमाल प्रतियोगिताका बारेमा जानकारी दिएको हो । धिमाल युवतीहरुमा लुकेर रहेको प्रतिभा उजागर गर्दै धिमाल जातिको कला, संस्कृति, भेषभुषा तथा भाषाको संरक्षण र प्रबद्र्धन गर्नका लागि मिस धिमाल गर्न लागिएको आयोजक समितिका संयोजक सुनिल धिमालले जानकारी दिनुभयो ।

पुस २१ गतेदेखि ३० गतेसम्म झापाको विर्तामोड, मोरङको उर्लाबारी र बेलबारीमा अडिशन गरिने आयोजकका सचिब मनिराज धिमालले बताउनुभयो । माघ ६ गतेदेखि माघ मसान्तसम्म २५ जना सहभागीहरु छनौट गरी नेतृत्व विकास, पत्रकारिता, फोटोसुट, धिमाल इतिहासका बारेमा जानकारी, फिजिकल फिटनेस, सौन्दर्य श्रृङ्गार लगायतका बारेमा प्रशिक्षण दिइने संयोजक धिमालले बताउनुभयो ।

मिस धिमालको विजेताले नगद रु १ लाख, फस्ट रनरअपले रु ५० हजार र सेकेन्ड रनरअपले रु ३५ हजार पाउने कोषाध्यक्ष सविता धिमालले जानकारी दिनुभयो । मिस धिमालको फाइनल फागुन पहिलो साता उर्लाबारीमा हुने र प्रतियोगिता सम्पन्न गर्न करिब रु २० लाख खर्च हुने आयोजकको अनुमान छ । यसअघि धिमाल युवा समिति झापाद्वारा –२०११ मा पहिलो मिस धिमाल आयोजना गरेको थियो । जसको उपाधि विर्तामोडकी अनु धिमालले जित्नुभएको थियो ।

प्रकाशित मिति: २६ मंसिर २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्