जनतान्त्रिक तराई मुक्ति मोर्चाद्धारा विराटनगरमा आत्मासमर्पण


 


विराटनगर, मंसिर २७

तराईमा सशस्त्र भूमिगत गतिविधी गर्दै आएको अखिल जनतान्त्रिक तराई मुक्ति मोर्चा विवेक समूहले हतियार बुझाएर आज विराटनगरमा आत्मासमर्पण गरेको छ ।

जयकृष्ण गोइत नेत्रृत्वको तराई जनतान्त्रिक मुक्ती मोर्चाबाट २०६७ सालमा अलग भएको विवेक समूहले जिल्ला प्रशासन कार्यालय मोरङमा सरकारद्धारा गठित राजनीतिक वार्ता टोलीसमक्ष हतियार बुझाएर सार्वजनिक भएको हो । विवेक समूहमा आवद्ध चार जनाले तीन थान हतियार बुझाउँदै शान्ति प्रक्रियामा आएको घोषणा गरेका हुन् ।

उनीहरुले दुईवटा कटुवा र एउटा अटोमेटिक पेस्तोल बुझाए । समूहको नेत्रृत्व गर्दै आएका अध्यक्ष विनोदकुमार भनिने विवेक यादव, केन्द्रीय नेताहरु रामु भनिने रामनन्दनकुमार कामैत, चन्द्रशेखर भनिने विनायकुमार यादव र जेपी भनिने जयप्रकाश लिचपुरिया पत्रकार, मानवअधिकारकर्मी र प्रशासनका अधिकारीको रहोवरमा सार्वजनिक भएको मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताउनु भयो । उनीहरुले राजनीतिक वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डे समक्ष हतियार बुझाएर अव शान्ति प्रक्रियामा आएको घोषणा गरे ।

हतियार बुझाएर सार्वजनिक हुने कार्यक्रममा वार्ता टोलीका सदस्य सुरेश आलेमगर, ताराकान्त चौधरी, गृह मन्त्रालयका उपसविच विश्वराज न्यौपाने, मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, सशस्त्रका एसपी मनिष थापा, जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी घनश्याम श्रेष्ठ लगायतको उपस्थिती थियो । संयोजक पाण्डेका अनुसार विवेक समूहसंग सिरहामा बार्ता भएको हो ।

सरकारी वार्ता टोलीसंग वार्ता भएर सहमतिपछि राजनीतिको मूलधार एवं संविधानको परिधिमा आउने निर्णयका साथ हतियार बुझाइएको समूहका अध्यक्ष विवेक यादवले बताउनु भयो । आफूहरुसंग भएको सबै हतियार तत्काललाई फेला नपरेको जानकारी दिंदै उहाँले सरकारी वार्ता टोली समक्ष सबै हतियार संकलन गरेर बुझाउन पुस ७ गते सम्मको समय माग गर्नु भएको छ ।

प्रकाशित मिति: २७ मंसिर २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्