नेकपा स्थायी समिति बैठक आज बस्दै


 


काठमाडौं, मंसिर २९

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समितिको बैठक पाँच महिनापछि आज बस्दै छ। पार्टीमा नेताहरुबीच विवाद बढ्दै गएपछि स्थायी समितिको बैठक डाकिएको हो।

गत शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको सचिवालय बैठक चार सचिवालय सदस्यले बहिष्कार गरेका थिए। त्यसलगत्तै बसेको अन्य पदाधिकारीहरुको बैठकले सचिवालय बोलाउने निर्णय गरेको थियो।

प्रधानमन्त्री निवासमा पार्टीको बैठक बस्दै आएको भन्दै व्यापक विरोध भएको थियो। पार्टी एकीकरणपछि पहिलोपटक स्थायी समितिको बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्न लागेको हो।

स्थायी समितिका सदस्यहरुले आफ्नो विचार पार्टी बैठकमा राख्न नपाएको भन्दै नेतृत्वसँग असन्तुष्टि जनाउँदै आएका छन्। बैठकमा पार्टी संगठन,सरकारको कामशैलीका विषयमा छलफल हुने बताइएको छ।  यसअघि गत साउन स्थायी समिति बैठक बसेको थियो। स्थायी समितिमा ४५ सदस्य रहेका छन्।

प्रकाशित मिति: २९ मंसिर २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्