भोजपुरमा एक दर्जनभन्दा बढी खानेपानी आयोजना अलपत्र


 


भोजपुर, पुस १

सरकारले ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति विघटन गरेपछि भोजपुरमा सञ्चालित एक दर्जनभन्दा बढी खानेपानी आयोजना अलपत्र परेका छन् ।

२० असारमा सरकारले देशैभरिका विकास समिति खारेज गर्ने निर्णय गरेको थियो । भोजपुरको आमचोक गाउँपालिकाका–७ र ८ देवानटारमा सञ्चालित खरखरे खानेपानी उपभोक्ता समितिका अध्यक्ष नवीन राईले समिति खारेज भएपछि काममा समस्या भएको बताउनुभयो ।

योजना सकिएपनि अनुगमन तथा मूल्यांकनका लागि केन्द्रले प्राविधिक टोली नपठाउँदा समस्या भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘आयोजनाको अनुगमन र मूल्यांकन गर्ने प्राविधिक आएका छैनन् । आयोजनाको कारोबार, बिल भर्पाइै क्लियर गर्न पाइएको छैन ।’ जनश्रमदानसहित झन्डै एक करोड रुपैयाँको लागतमा खरखरे खानेपानी आयोजना सञ्चालनमा आएको हो ।

यो योजनाबाट एक सय ८० घरपरिवार प्रत्यक्ष लाभान्वित भएका छन् । उपभोक्ता समिति आफैँले ऋण लिएर सामग्री खरिद गर्नेदेखि कामदारलाई निर्माणको काममा लगाएको थियो ।

समिति खारेज हुँदा कामदारलाई पारिश्रमिक वितरणमा समेत समस्या भएको राईले बताउनुभयो । भोजपुरमा तीनवटा सहयोगी संस्थामार्फत १६ वटा खानेपानी आयोजना सञ्चालनमा छन् ।

प्रकाशित मिति: १ पुस २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्