नेकपाको स्थायी कमिटी बैठक आज बस्दै


 


काठमाण्डौँ, पुस २

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्नेछ । यसअघि शनिबार दुई घन्टा बसेर बैठक स्थगित भएको थियो ।

शनिबारको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गर्नुभएको थियो । दुवै अध्यक्षका तर्फबाट प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमा नेता बामदेव गौतमले फरक मत राख्नुभएको थियो । पार्टी सञ्चालन, सरकारको समीक्षा र आगामी कार्यभार समेटिएको अध्यक्षद्वयको प्रतिवेदनमा गौतमले ८ बुँदे फरक मत राख्नु भएको हो ।

उहाँको फरक मत सबै सदस्यहरुलाई अध्ययनका लागि वितरण गरिएको छ । दुवै प्रतिवेदन अध्ययनपछि छलफल गर्ने भन्दै आजसम्मका लागि बैठक स्थगित गरिएको थियो । आजको बैठकमा दुवै प्रतिवेदन र पार्टीको तल्लो तहको एकीकरणको सम्बन्धमा समेत छलफल हुने बताइएको छ ।

शनिबारको बैठकमा अध्यक्ष ओलीले सरकार तथा अन्य समसामयिक राजनीतिक विषयमा आफ्नो धारणा राख्नुभएको थियो । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) गत जेठ ३ गते एकता भएपनि तल्ला कमिटीको एकता भइसकेको छैन ।

केही हप्ताअघि प्रदेश कमिटी टुंगो लगाइए पनि जिल्ला तथा जनवर्गीय संगठनको एकताले अन्तिम रुप पाएको छैन । साथै, पोलिटव्युरोको चयन तथा केन्द्रीय सदस्यलाई जिम्मेवारी तय गरिएको छैन ।

प्रकाशित मिति: २ पुस २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्