‘प्रहरीले दुःख दिए फोन गर्नुस्’



काठमाडौँ, ५ पुस

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी बरिष्ठ उपरीक्षक बसन्तकुमार लामाले प्रहरीले समयमै जनताको काम नगरे, दुःख दिए वा घुस मागेमा तत्काल जानकारी गराउन आग्रह गर्नुभएको छ ।

महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर र ट्रिटन इन्टरनेशनल कलेज सुविधानगरद्वारा संयुक्तरुपमा आज कलेजमा आयोजित प्रहरी–विद्यार्थी साझेदारी कार्यक्रमलाई सम्बोधन गर्दै लामाले प्रहरी सङ्गठनमा विभिन्न ठाउँ र परिवेशबाट आएका सबै प्रहरी असल, नैतिकवान र इमान्दार छन भनेर ठोकुवा गर्न नसकिने बताउनुभयो । पछिल्लो समय महानगरीय प्रहरी परिसर काठमाडौँले ३८ प्रहरीलाई निलम्वन गरिएको जानकारी दिनुभयो ।

“जनतालाई न्याय दिन पहल गर्छु, सुरक्षा दिन्छु, दुःख परेको बेलामा सहयोग गर्छु भनेर प्रहरी सङ्गठनमा आबद्ध केही प्रहरीले पीडितलाई न्यायको लागि सहयोग नगर्ने, उल्टै अपराधीसँग मुख जोडेर काम गर्ने गरेकाले प्रहरी सङ्गठनप्रति जनताको विश्वास गुम्न थालेको हो,” लामाले भन्नुभयो । कञ्चनपुरकी १३ वर्षिया किशोरी निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरणमा प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको र अपराधि भेटिने कुरामा दुईमत नभएको उहाँको दावी थियो । उहाँले विगतमा रानीबारी हत्याकाण्ड लगायतका विभिन्न अपराधमा सङ्लग्न अपराधिलाई ढीलो भएपनि पक्रिन प्रहरी सफल भएको प्रष्ट पार्नुभयो ।

कार्यक्रममा पत्रकार बलराम प्यासी, महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका प्रमुख प्रहरी नायब उपरीक्षक गोविन्दराज काफ्ले, कलेजका प्राचार्य डा विहारीविनोद पोखरेल, सहप्राचार्य श्रीकृष्ण विष्टलगायते आ–आफ्नो धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News