नेपालको प्रथम महिला राष्ट्रपति बन्दै विद्या भण्डारी


 


Bidhya-bhandari-kul-bahadurकाठमाडौं, कार्तिक १०

बुधवार साँझ ५ बजेसम्म नेपालले दोस्रो राष्ट्रपति पाइसक्नेछ । कुल ५९७ सदस्य रहेको संसदमा राष्ट्रपति जित्नका लागि २९९ मत पाउनुपर्छ । अहिलेसम्मको हिसाबमा प्रस्तावक र समर्थक दलहरुका सांसदहरुले मात्रै मत दिँदा पनि विद्या भण्डारीको पक्षमा ३३४ मत पुगिसकेको छ ।
यी बाहेक परिवार दलका २, जनमुक्ति पार्टी लोकतान्त्रिकका २, नेपा राष्ट्रिय पार्टीका १, खम्बुवान राष्ट्रिय मोर्चाको १ समेत गरि ६ मत विद्याको पक्षमा थपिने देखिन्छ । त्यसो गर्दा उनले २४० मत पाउनेछिन् ।

त्यस्तै गुरुङको पक्षमा हालसम्म आफ्नै पार्टी नेपाली कांग्रेसका २०७ सांसद बाहेक अरु देखिएका छैनन् । उनको पक्षमा स्वतन्त्र सांसद अतहर कमाल मुसलमानको मत जान सक्छ ।

त्यस्तै प्रधानमन्त्री चुनावमा अन्तिम घडीमा एमालेलाई छाडेका जनता दलका हरिचरण शाह र दलित जनजाति पार्टीकी यशोदा लामाको मत कांग्रेसले गनेको छ । त्यसो हुँदा गुरुङको पक्षमा २१० मत पुग्न सक्छ ।

प्रधानमन्त्री चुनावमा कांग्रेसलाई मत दिएको मधेसी मोर्चाले यो पटक चुनावमा भाग नलिने बताएको छ । अन्य केही साना दलले अझै निर्णय गरेका छैनन् ।

सामान्य हिसाबमा हेर्दा विद्या भण्डारी राष्ट्रपति हुने निश्चित देखिन्छ । तर, राष्ट्रपति निर्वाचन प्रधानमन्त्री निर्वाचन जस्तो खुल्ला होइन । यसमा पक्ष र विपक्षको लहरमा उभिएर मतदान गर्नु पर्दैन । गोप्य मतदान भएकाले सांसदहरुले आफ्नो पक्षको उम्मेदवारलाई मत नदिई अर्कोलाई दिन पनि सक्छन् ।

तर, यति ठूलो संख्यामा सांसदहरुले फ्लोर क्रस गर्ने सम्भावना निकै कम रहेको छ । त्यसैले विद्या भण्डारी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपति हुने सम्भावना बढी छ ।

यद्यपि गुरुङले जिते भने उनी पहिलो आदिवासी जनजाति राष्ट्रपति हुनेछन् । विद्याले जितिन् भने उनी पहिलो महिला राष्ट्रपति बन्नेछिन् । शालीन स्वभावकी विद्याले नेपालको पहिलो महिला राष्ट्रपति बनेर इतिहास निर्माण गर्ने अवसर चुम्न अब केही घण्टामात्रै बाँकी छ । अनलाइनखबरबाट

प्रकाशित मिति: १० कार्तिक २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्