गगन र महतोले भने संविधान संशोधन नगरे संसद घेर्छौं



काठमाडौं आइतबारको संसद बैठकमा बोल्न नपाएपछि प्रतिपक्षी नेपाली कांग्रेसका नेता गगन थापाले भनेका थिए, जबसम्म बोल्न दिइन्न, तबसम्म संसद चल्दैन। प्रतिपक्षी दलका तर्फबाट गगनले दिएको यो अभिव्यक्तिको समर्थन गर्दै राष्ट्रिय जनता पार्टी नेपालले प्रतिपक्षलाई बोल्न नदिनु सत्तापक्ष र सभामुखको गम्भीर गल्ती भएको निष्कर्ष निकालेको छ।

उसले प्रधानमन्त्रीको सम्बोधनमाथि प्रमुख प्रतिपक्ष दलले बोल्न पाउने अधिकार खोसेर सभामुख कृष्णबहादुर महराले गल्ती गरेको निष्कर्ष निकालेको हो।

राजपा अध्यक्ष मण्डलका शीर्ष नेता अनिलकुमार झाले आफ्नो पार्टीको धारणा पत्रकारहरुमाझ राख्दै संसदीय व्यवस्थामा प्रधानमन्त्रीको संसदको सम्बोधनमाथि प्रतिपक्ष दलले टिप्पणी गर्ने व्यवस्था रहे पनि त्यसो गर्न नदिएर सभामुख महराले गल्ती गरेको बताए।

संसद बस्नुको अर्थ सरकारबारे अरु दलले टिप्पणी गर्न पाउनु रहेको तथ्य प्रस्तुत गर्दै प्रधानमन्त्री बोलेपछि संसदमा प्रश्न गर्न पाउने व्यवस्था संघीय संसदको नियमावलीमा रहेको स्पष्ट पारे।

अब संसद घेर्ने, सरकारको साथ छोड्ने

राजपा नेता झाले आफ्नो पार्टी अब सरकारविरुद्ध चुप लागेर नबस्ने बताए। संसदमा बोल्दा प्रधानमन्त्री ओलीले संविधान संशोधनको विषयमा कुनै धारण नराखेकोमा असन्तुष्टि जनाउँदै उनले यो विषयमा पार्टीमा गम्भीर छलफल गरेर कडा कदम चालिने बताए।

‘हाम्रो पार्टीको माग सम्बोधन हुनेगरी तत्काल संविधान संशोधन नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं, संसद पनि घेर्छाैं’, उनले भने।

आइतवारको संसद बैठकमा प्रधानमन्त्रीको सम्बोधनमाथि प्रश्न उठाउन नदिएपछि कांग्रेस नेता गगन थापाले सभामुख पार्टीको कार्यकर्ताजस्तो व्यवहार देखाएको टिप्पणी गरेका थिए। उनले प्रधानमन्त्रीको सम्बोधनमा धेरै तथ्यभन्दा बाहिर कुरा आएको र यसले सार्वभौम संसदलाई गुमराहमा राखेको भन्दै सत्य बोल्न खोज्दा समय नदिएको गुनासो गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News