दाङमा नागदेवता भेटिएको भन्दै पूजाआजा गर्नेको भिड लाग्यो


 


दाङ, पुस २५

कबिर डेढ महिनादेखि दाङको तुलसीपुर ४ बनहरीस्थित थारू गाउँमा गोमन सर्प एकै ठाउँमा देखिन थालेपछि त्यसलाई नाग देवता भन्दै स्थानीयले पूजाआजा गर्दै आएका छन्। सर्पलाई नाग देवता भन्दै पूजा गर्नुका साथै हेर्न सयौँ मानिसहरूको भिड लाग्ने गरेको हो। स्थानीयले सर्पलाई गाईको दूध र जल दिँदै आएको बताउँछन्।

हाल सर्प देखिएको उक्त ठाउँमा भुह्यार थान रहेको र उक्त थान २र३ वर्ष अगाडि उनेत्र लगेको उनीहरू बताउँछन्। सर्पले विगत एक महिनादेखि बिहान ठीक ९ बजेतिर प्वालबाट निस्कने र करिब १ घन्टापछि प्वालभित्र जाने गरेको स्थानीय कमला वलीले बताइन्। त्यसैगरी ११ बजेतिर त्यसैगरी निस्केर आधा घन्टा जति घाम तापेर फेरि प्वालभित्र पस्ने उनले बताइन्।

उक्त सर्प निस्केन ठाउँ आफ्नो जग्गा भएको र त्यो जग्गा स्थानीय सुकबहादुर घर्तीलाई बेच्नका लागि बयानापट्टा गरेको दिनदेखि त्यहाँ सर्प देखिन थालेको वलीले बताइन्। ‘उहाँ नाग देवता नै हुनुहुन्छ, नत्र सापको बच्चो र बाघको बच्चो यसरी एकै ठाउँमा कहाँ बस्छ,’ वलीले भनिन्। घर्तीले पनि उक्त सर्पलाई नागकै भएको बताए। ‘मैले अब यहाँ नाग देवताको लागि एउटा मन्दिर निर्माण गर्ने सोच बनाएको छु,’ घर्तीले भने।

उक्त सर्प पहिलो पटक गत मंसिर २७ गते देखेपछि स्थानीय हरिराम चौधरीले डुमेनी सर्प भन्दै मार्न प्रयास गरे पनि मार्न नसकेको चौधरीले बताए। ‘मैले त्यो बस्ने दूलोमा धुँवा बनाएर मार्न भनि आगो बाल्न खोजेको थिए,तर सकिन,’ चौधरीले भने ‘सबैले नाग देवता भन्दै पूजा गर्न थालेका छन्, म त अलमलमा परेको छु कि यो साप हो कि नाग हो।’ त्यसैगरी उक्त ठाउँमा ठुलो शक्ति भएको दैनिक त्यहाँ आउने माताहरूले बताउने गरेका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भुवन चौधरीले बताए।

अशुद्ध भएका व्यक्ति र माछा मासु खाएका व्यक्ति यहाँ आउनु हुँदैन भन्ने माताहरु काम्ने बेला भन्ने गरेको अध्यक्ष चौधरीले बताए। अहिले उक्त क्षेत्रमा तारबार गरेको र केही समयपछि मन्दिर निर्माण गरिने अध्यक्ष चौधरीले बताए। भूवन चौधरीको अध्यक्षतामा ११ सदस्यीय मन्दिर निर्माण समिति गठन गरिएको छ। यसरी लामो समयसम्म एकै स्थानमा नाग बसी रहनु आश्चर्यजनक रहेको स्थानीय बुद्धिजीवि अनु शर्माको बताइन्।

उनले यस्तो नाग रहस्यमय भएको भन्दै यसको वास्तविक महत्व पत्ता लगाएर संरक्षण गर्नुपर्ने बताइन्। यता प्रकृतिका साथीका अनुसन्धानकर्ता चिरिञ्जीवी खनालले भने त्यो सर्प नै भएको हो तर देवता नभएको बताए। सर्पको बासस्थान भएको हुनाले जाडो समयमा घाम ताप्न प्वालवाट बाहिर आउनु र फेरि त्यही आफ्नो बासस्थानमा जाने हुँदा मानिसहरू त्यसलाई देवताको रूपमा लिएको हुन सक्ने उनले बताए।

यस्ता घटना देशका विभिन्न स्थानमा यसअघि पनि हुँदै आएको पनि उनले बताए। जाडोमा प्राय सर्प एउटै ठाउँमा बस्ने गरेको हुन्छ। त्यो उसको बासस्थान पनि हुन सक्छ, त्यहाँ त्यसले अण्डा पारेको पनि हुनसक्छ,’ खनालले भने ‘यो सामान्य घटना हो, जाडोमा प्राय सर्पले यस्तै गर्छ।’

प्रकाशित मिति: २५ पुस २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्