पार्टी‘एकता पछि राजसंस्थाको लागी अन्तिम लडाइँ लड्ने कमल थापाको घोषणा



काठमाडौ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रिय एकता दिवस देशव्यापी भव्य रुपमा मनाउन र उक्त दिन सार्वजनिक बिदा दिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् । उनले भने,‘पृथ्वीनारायण शाहको एकीकरणको योगदानलाई राजनीतिक आस्थासँग जोडेर हेर्नुहुँदैन । एकीकरणको गौरव र ईतिहाँस कहिल्यै पनि परिवर्तन हुँदैन ।’

बिहीबार एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले शुक्रबार राष्ट्रिय एकता दिवस भव्य रुपमा मनाउन आग्रह गरेका छन् । उनले भने,‘पृथ्वीनारायण शाहको राष्ट्रिय एकीकरणलाई अपव्याख्या गरेको पनि पाउँदछौं । शाहले एकीकरण गरेको होइन, गोरखा विस्तार गरेका हुन भनेर व्याख्या गरेको पनि पाइयो । तर, दुवैको परिणाम एउटै हो–आधुनिक नेपाल निर्माण । नेपाली हुँ भनेर गर्व गर्ने प्रत्येक नेपालीले उहाँलाई सम्मान गर्नुपर्छ ।’

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका थापाले अहिले राष्ट्रिय एकता कमजोर भएको र राष्ट्रिय पहिचान पनि संकटमा परेकोमा चिन्ता व्यक्त गरे । उनले भने,‘मुलुकमा राष्ट्रिय अखण्डता, स्वतन्त्रता र एकतालाई अक्षुण राख्नको लागि पृथ्वीनारायण शाहबाट प्रेरणा लिनुपर्छ ।’ आफ्नो पार्टीले प्रत्येक वर्ष पुष २७ गते देशव्यापी रुपमा राष्ट्रिय एकता दिवस मनाउँदै आएको पनि उनले सुनाए । उनका अनुसार राप्रपाले शुक्रबार काठमाडौंको राष्ट्रिय सभागृहमा दिउँसो १ बजेदेखि ३ बजेसम्म चियापान राखेको छ ।

फरक प्रसंगमा उनले आफ्नो पार्टी राप्रपाले नेपाललाई हिन्दूराष्ट्रको रुपमा पुनर्स्थापन गर्न माग राखेर आगामी फागुण ७ गतेबाट जनसंघर्ष गर्न लागेको पनि जनाए । फागुण ७ गते केन्द्रमा प्रधानमन्त्री र प्रदेशमा ७ वटै प्रदेशका मुख्यमन्त्रीहरु र ७७ वटै जिल्लाका सिडिओहरुलाई हिन्दूराष्ट्र पुनर्स्थापनाको माग राखेर ज्ञापनपत्र बुझाउने कार्यक्रमसमेत तय भैसकेको थापाले सुनाए । त्यस्तै, आगामी फागुण १५ गतेदेखि फागुण मसान्तसम्म मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा पनि पार्टीले गर्न लागेको उनले सुनाए ।

विगतका कमिकमजोरीहरु हटाएर अघि बढ्ने र सबै राप्रपालाई एकीकृत गर्ने र बलियो राष्ट्रवादी शक्ति निर्माण गर्न आफूहरु लागिपरेको पनि उनले सुनाए । थापाले भने,‘यही क्रममा केही समय अघि पशुपतिजीले नेतृत्व गर्नुभएको राप्रपा (प्रजातान्त्रिक), डा. प्रकाशचन्द्र लोहनीले नेतृत्व गर्नुभएको एकीकृत राप्रपा राष्ट्रवादीसँग हामीले सघन रुपमा वार्ता गर्यौं ।’ राणा र लोहनीले उठाएका सबै विषयहरुलाई आफूहरुले सम्बोधन गरेको थापाको जिकिर छ ।

उनले भने,‘सबै विषयहरुमा सहमति पनि भयो । सहमतिअनुसार नै एकता गर्ने मिति र स्थान् पनि निर्धारण गर्यौं । तर, एकता हुने एक दिन अगाडि हामीलाई आन्तरिक गृहकार्य गर्नको निमित्त समय पुगेन, चार-पाँच दिन समय चाहियो भनेर उहाँहरुले भन्नुभएको थियो । तर, अहिले चार-पाँच दिन मात्रै होईन, चार-पाँच हप्ता, महिनौं बितिसकेको छ । अब म प्रतिक्षा गरेर बसिरहेको छु ।’

आफ्नो पार्टीले राजसंस्थाको एजेण्डा नछोडेको पनि उनले जिकिर गरे । उनले थपे,‘हामीले यो एजेण्डा छोडेका छैनौं । सँधै, हरेकपटक जोडेर हिँड्नुपर्ने आवश्यकत्ता छैन, हाम्रो एजेण्डाको रुपमा यो यथावत छ।’

एक अर्को प्रसंगमा थापाले वर्तमान दुई तिहाईको सरकारबाट जनताले यो एक वर्षमा परिवर्तनको अनुभुति गर्न नपाएको गुनासो पोखे । उनले भने,‘दुई तिहाईको सरकार गठन भएको एक वर्ष पुग्न लाग्यो, तर जनताले यो अवधिमा परिवर्तनको अनुभुति गर्न पाएका छैनन् । यो बीचमा शान्ति, सुरक्षाको अवस्था बिग्रिएको छ । महिलाविरुद्धका हिंसा, बलात्कारका घट्ना तिव्र रुपमा बढिरहेका छन् । तर, सरकारले आफ्नो प्रभावकारी उपस्थिति देखाउन सकेको छैन ।’

त्यस्तै, थापाले मुलुकमा भ्रष्टाचार व्यापक भएको पनि आरोप लगाए । उनले भने,‘स्थानीय तहदेखि लिएर केन्द्रिय तहसम्म भ्रष्टाचारले ब्रम्हलुटको रुप लिईसकेको छ । वाईडबडी हवाईजहाज खरिद काण्ड भ्रष्टाचारको श्रृंखलामा थप कडी हो । यस सम्बन्धमा संसदीय समितिले निश्कर्षसहितको प्रतिवेदन दिईपनि सकेको छ । अब त्यो प्रतिवेदनअनुसार सरकार र अख्तिया दुरुपयोग अनुशन्धान आयोगबाट कारबाही हुनेछ भन्ने मैले अपेक्षा राखेको छु ।’

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News