विवेकशील साझामा भूकम्प गयो, १७ महिनाकाे संघर्षपछि हामी अलग भयौँ’



काठमाडौं : वैकल्पिक राजनीतिकाे अभ्यास गरेकाे भनिएकाे पार्टी विवेकशील साझा अन्ततः विभाजित भएको छ । केही समययता बैचारिक मतभेद झेल्दैआएका दुई नेता रवीन्द्र मिश्र र उज्ज्वल थापा समूह अलग भए । थापाको नेतृत्वमा आज २७ गते विवेकशील नेपाली दल निर्वाचन आयोगमा दर्ता भएको छ । पार्टी फुटेको घोषणासँगै विद्रोही पक्ष अर्थात् तत्कालिन विवेकशील समूहकी नेतृ रन्जु दर्शनासँग रमन पौडेलले गरेको कुराकानीको सम्पादित अंश :

२०७४ साउन ११ गते हामीले पार्टी एकताको घोषणा गरेका थियौँ । नयाँ शैली र तरिकाबाट राजनीति गर्नुपर्छ भन्ने हामी दुबै पक्षलाई लागेको थियो । हाम्रो विश्वास र भरोसा नै वैकल्पिक राजनीतिप्रति थियो ।

तर १७ महिनाको यो हाम्रो सहकार्यको समय प्रारम्भिक चरणमा सुखद् नै रहे पनि बिस्तारै निराशामूलक रुपमा बदलिन थाल्यो । खासगरी वैकल्पिक राजनीतिप्रति हाम्रो बुझाइ नै फरक देखियो । हामी चाहन्थ्यौँ राजनीति नयाँ र फरक तरिकाले गरिनुपर्छ । यसको लागि ‘नेम र फेम’ नै चाहिन्छ भन्ने पनि थिएन । बरु एक अभियानको खाँचो जरुरी हो ।

हामीले बारम्बार राजनीति गर्ने तरिका र सहभागितामूलक लोकतन्त्रको मुद्दा उठाइरह्यौँ । तर यसको सुनुवाई नेतृत्व तहबाट भएन । यसैले अन्ततः हामी विधिवत रुपमै अलग भयौँ । हामी अब आफैँले सुरु गरेको विवेकशील अभियानलाई निरन्तरता दिने छौँ । आजै पार्टी दर्ताको लागि निर्वाचन आयोगमा निवेदन पनि दियौँ ।

भूकम्पपको प्रसंग :

तपाईँलाई थाहा छ नि ! २०७२ साल बैशाख १२ गते भूकम्प जाँदा पनि अचानक त्यही दिन मात्रै भूकम्प गएको हैन । बरु त्यसभन्दा अघि वर्षौँदेखिको लामो समयसम्म प्लेटको टकराबपछि मात्रै भूकम्प गएको थियो । हो । हामीले त्यस्तै महसुश गर्यौँ । सहकार्यको हाम्रो समय पनि संघर्षले भरियो । हामीले पार्टीलाई नयाँ ढंगले लैजान प्रयत्न गरिरह्यौँ । तर नेतृत्व तहबाट ईच्छाशक्ति नै देखिएन ।

प्रारम्भिक चरणमा भएका प्रतिवद्धता नै पालना गर्ने मनस्थिति नेतृत्व तहमा देखिएन । पार्टीलाई नयाँ रुपमा रुपान्तरण गर्ने भनिएको थियो । त्यसप्रति गम्भीर भएको देखिएन । कुनै एक व्यक्तिको नाम लिनु भन्दा पनि उहाँहरु (नेतृत्व) ले कांग्रेस, नेकपा लगायत पुरानै पार्टीहरुको शैलीमा राजनीति गर्नुभयो । त्यही कुरा नै हामीले सुधार्नुपर्ने भन्दै आयौँ ।

हाम्रो मुद्दाको सुनुवाई नभएपछि अलग भएर वैकल्पिक राजनीतिलाई निरन्तर र अझै प्रभावशाली रुपमा अघि बढाउने निधो गरेका हौँ । अब हामी छिट्टै नीतिगत, संगठनात्मक लगायत प्राविधिक कुरा पनि व्यवस्थित बनाएर लैजाने छौँ । र यसमा युवाहरुको सशभागिता झनै व्यापक बनाउने छौँ । युवापुस्ता भन्नाले उमेर मात्रै नभएर नयाँ सोच भएका, वौद्धिकता, नेतृत्व क्षमता सबैको ‘कलेक्टिभ लिडरशीप’मा हामी विश्वास गर्दै अघि बढ्ने छौँ । न कि, ‘नेम र फेम’ मात्रै ।

वैकल्पिक राजनीतिलाई सशक्त बनाउने कुरामा हामी झनै प्रतिवद्ध छौँ । खासमा परम्परावादी शैली नै हाबी भएकाले हामी अलग हुने निर्णयमा पुगेका हौँ । आधारभुत रुपमै हाम्रो बुझाइमा फरकपन देखियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News