डा. केसीको स्वास्थ्य अवस्था , आइसीयुमा राख्नुपर्ने, इलाममा छैन आइसीयु


 


इलाम : चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर इलामबाट १६ औं अनसन शुरु गरेका डा. गोविन्द केसीलाई निमोनियाले च्यापेको छ । चिकित्सकहरुले उनलाई तत्काल आइसीयुमा राख्नुपर्ने सुझाएका छन् । तर, इलाममा आइसीयु छैन । अनसन थालेको सातौं दिनसम्म आइपुग्दा डा. केसीको स्वास्थ्य स्थिति नाजुक बन्न थालेको छ ।

डा. केसीलाई निमोनिया भएको र रोग प्रतिरोध क्षमता कम हुँदै गएकाले तत्काल आइसीयूमा राख्नुपर्ने सल्लाह इलाम अस्पतालले दिएको छ । तर, केसीले औषधि उपचार लिन अस्वीकार गरिरहेका छन् । ‘डा. केसीले अस्पतालबाट एक इन्च पनि कतै नसर्ने र उपचार पनि नलिने भनेका छन्,’ केसीका सहयोगी धर्म गौतमले भने ।

डा केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि उनको उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट विशेषज्ञ डाक्टरहरुको टिम इलामतर्फ लागेको छ ।

प्रतिष्ठानका मुटुरोग विशेषज्ञ डा प्रशान्त शाही र इमरजेन्सी मेडिसिनका डा अजय यादवसहित ११ जनाको टोली इलाम तर्फ लागेको प्रतिष्ठानका उपकुलपति डा राजकुमार रौनियारले जानकारी दिए । उनका अनुसार विशेषज्ञसहितको टोलीमा उनीहरुसँग फिजिसियन, एनेस्थेसिया, ल्याब र २ जना नर्ससमेत छन् । डा केसी चिकित्सा शिक्षा विधेयक विगतमा भएको सहमति अनुसार आउनु पर्ने लगायतका ६ बुँदे माग राखेर पुस २५ गतेदेखि आमरण अनसनमा छन् ।

प्रकाशित मिति: १ माघ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्