केसीको अवस्था गम्भिर, उपचारका लागि हेलिकप्टरमा काठमाण्डौ ल्याउने तयारी


 


काठमाडौं इलाममा अनसनरत डा. गोबिन्द केसीको स्वास्थ्य उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट सात जना चिकित्सकको टोली इलाम प्रस्थान गरेको छ । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको निर्देशनमा विशेषज्ञ चिकित्सकसहितको टोलीलाई बुधबार इलाम पठाइएको हो ।

प्रतिष्ठानका अस्पताल सहायक निर्देशक डा. विकास शाहको नेतृत्वमा डा. प्रशान्त शाह कार्डियोलोजिष्ट विभाग, डा. अजय यादव मेडिसिन इमर्जेन्सी, डा. सविन भण्डारी एनएसथेसिस (आइसियू हेर्ने), ल्याव टेक्निसियन दीपेन्द्र यादव र नर्स रचनासहितको विशेषज्ञ चिकित्सकसहितको टोली त्यसतर्फ प्रस्थान गरेको छ । मोबाइल भेण्टिलेटर, आइसियू सुविधासहित उक्त टोली इलामतर्फ गएको हो ।

यदि उपचार हुन सकेन भने हेलिकप्टरमा काठमाण्डौ ल्याउने तयारी गरेको स्रोतको छ ।

डा. गोविन्द केसीको अवस्था गम्भिर, भने- मलाई सास फेर्न गाह्रो भो
सोह्रौं अनशनका क्रममा बिरामी भएपछि इलाम जिल्ला अस्पतालमा उपचाररत प्राध्यापक डा. गोविन्द केसीले सास फेर्न गाह्रो भएको बताएका छन्।

उनको उपचारमा संलग्न इलाम अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. ब्रिजेन्द्रकुमार साहले आज (मंगलबार) बिहान स्वास्थ्य परीक्षण गर्ने क्रममा डा. केसीले आफूलाई सास फेर्न गाह्रो भएको बताएको जानकारी दिएका हुन्।

‘उहाँको फोक्सोमा इन्फेक्सन (संक्रमण) भएको छ, रोगसँग लड्ने क्षमता पनि कमजोर भइसकेको छ,’ टेलिफोनमा कुरा गर्दै डा. साहले भने, ‘तुरुन्त एन्टियोबायोटिक्स चलाउनुपर्ने अवस्था छ तर उहाँ मानिरहनु भएको छैन।’

डा. केसीको मुटुको चाल अझै अनियमित नै छ भने अक्सिजनको मात्रा पनि कम छ। ‘बिहान ९ बजे उहाँको स्वास्थ्य परीक्षण गरिएको थियो,’ डा. साहले भने, ‘उहाँले टाउको दुख्यो, पेट पोल्यो पनि भन्नुभएको छ।’

डा. साहका अनुसार बिहान सवा ५ बजेको रिपोर्टअनुसार डा. केसीमा अक्सिजनको मात्रा ८० प्रतिशतमा झेरको छ। यो भनेको खराब अवस्था हो। सामान्य अवस्था ९५ प्रतिशत हो।

डा. केसीमा मांशपेसी दुख्ने तथा बटारिने समस्या पनि देखापरेको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। गत साेमबारदेखि अस्पताल भर्ना भएका डा.केसीलाई ‘नर्मल’ स्लाइनपानी र अक्सिजन दिने क्रम जारी छ।

चिकित्सकका अनुसार डा. केसीको स्वास्थ्य दिनप्रतिदिन कमजोर बन्दै गएको छ भने आईसीयू चाहिने बेला भइसकेको छ। तर जिल्ला अस्पतालसहित इलामका कुनै पनि स्वास्थ्य संस्थामा आईसियू छैन।

राष्ट्रिय चिकित्सा विधेयकका विषयमा सरकारले आफूसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै इलाममा गएर डा.कसीले पुस २५ गते अपराह्न १६औं सत्याग्रह सुरु गरेका थिए।

अनशनकाे तेस्रो दिनदेखि नै डा. केसीकाे स्वास्थ्यमा समस्या देखिन थालेकाे थियाे। गत आइतबार बेलुकादेखि झनै खराब हुँदै गएपछि उनलाई अनशल स्थलबा६ सोमबार बिहान ९ बजे इलाम अस्पताल लगिएकाे हाे।

डा. केसीकाे अभियानमा संलग्न देवराज भारद्वाजका अनुसार इलामस्थित सहरी विकास भवनमा अनशनरत डा. केसीलाई एम्बुलेन्समा राखेर चोकबजारस्थित जिल्ला अस्पताल लगिएकाे हाे।

चिकित्सकले आइतबारै बेलुका डा. केसीलाई अस्पताल जान सुझाव दिए पनि मानिरहेका थिएनन्। तर काठमाडौंबाट गएका डा.अभिषेक सिंह लगायतले सम्झाएपछि डा. केसी सोमबार बिहान अस्पताल जान सहमत भएको भारद्वाजले बताए।

यस्ता छन् डा. केसीका माग
१.१५औं सत्याग्रहका क्रममा २०७५ साउन १० गते नेपाल सरकारसँग भएको सम्झौता तत्काल कार्यान्वयन गर्नुपर्ने।

-सम्झौताबमोजिम अक्षरंशः संशोधन गरेर संसदबाट अविलम्ब चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने।

-गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनले दोषी ठहर गरेका त्रिवि पदाधिकारीलगायतका व्यक्तिहरूलाई तत्काल सिफारिस बमोजिम बर्खास्ती लगायतका कारबाही गर्नुपर्ने। त्रिवि पदाधिकारीहरूद्वारा चिकित्सा शिक्षा अध्ययन संस्थानका खोसिएका अधिकारहरु पुनः सो संस्थामै फिर्ता गर्नुपर्ने।

-सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम द्रुत गतिमा अघि बढाउनुपर्ने। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबिबिएस भर्ना सुरु गर्ने व्यवस्था गर्नुपर्ने।

२.निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी मुद्दा चलाइयोस्। साथै, प्रमाण नष्ट गर्ने, झुटा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न गएका व्यक्तिमाथि गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरूमाथि तत्काल फौजदारी मुद्दा चलाउनु पर्ने।

३.नेपाल सरकारको निर्णयको उल्लंघन गरी काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारीमाथि कारबाही गर्नुपर्ने।

प्रकाशित मिति: २ माघ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्