दशगजा क्षेत्रमा भारतीय पक्षलाई नेपाली पक्षबाट रोकाओट



कञ्चनपुर माघ १० कञ्चनपुरको पुनर्वास नगरपालिका–११ को डोकेबजार नजीक नेपाल भारत सीमा क्षेत्रको दशगजामा भारतले डोजरको प्रयोग गरी डिल (ढिस्को) बनाउन थालेपछि त्यसलाई नेपाली पक्षले रोक्न लगाएको छ ।

स्थानीय बासिन्दाका अनुसार सीमा स्तम्भ नं १७१ र ७७३ नजीकको क्षेत्रमा भारतले बिना सहमति डिल र नाली निर्माण गर्न थालेको हो । दुवै देशबीच दशगजा क्षेत्रमा कुनै पनि किसिमको संरचना बनाउन नपाइने नियम छ । भारतीय पक्षले बुधबारदेखि सीमा क्षेत्रमा डोजरको प्रयोग गरी डिल र नाली बनाउन थालेको स्थानीय बासिन्दाले बताएका छन् ।

भारतीय पक्षले दशगजा क्षेत्रको झण्डै ६० मिटरभन्दा बढी क्षेत्रमा नाली र माटोको डिल बनाएको छ । नेपाल पक्षसँग कुनै पनि सहमति नलिईकन भारतीय पक्षले नाली र डिल बनाउन थालेपछि अर्को आदेश नहुँदासम्मका लागि रोक्न लगाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी नायब उपरीक्षक कृष्णराज ओझालाई उद्धृत गर्दै राससले जनाएको छ ।

अहिले डिल र नाली बनाउने कार्य रोक्न लगाएको उनले बताए । भारतले दशगजा क्षेत्रमा बनाउँदै गरेको डिलबारे बुझ्नका लागि प्रजिअ र सुरक्षा निकायको टोली त्यसतर्फ गएको पनि उनले जानकारी दिए ।

उता भारतीय पक्षले चाहिँ सीमामा रहेको फोहर र छाडा चौपाया भारतीय संरक्षित वन दुधुवा क्षेत्रमा नजाओस् भनेर डिल बनाउन थालेको तर्क गरेको बताइएको छ ।

प्रकाशित मिति: १० माघ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्