हाजिर गरेर सरकारी अस्पतालमा हडताल, निजीमा धमाधम उपचार


 


काठमाडौं, माघ १८

नेपाल चिकित्सक संघको अगुवाइमा त्रिवि शिक्षण अस्पतालमा आन्दोलन गर्दै आएका डाक्टरहरू निजी अस्पतालमा भने निरन्तर काम गरेको भेटिएको छ । शिक्षण अस्पतालमा डा गोविन्द केसीको माग सरकारले पूरा नगरेको भनेर दिनभर अनशनमा बस्ने चिकित्सकहरू बेलुका र बिहान भने निजी अस्पतालमा बिरामी जाँच्ने गरेका हुन् ।

सर्वसाधारणलाई सर्वसुलभ रूपमा औषधि उपचार गराउने सरकारी अस्पतालमा भने उनीहरू आन्दोलनको बाहना बनाउँदै काम गर्दैनन् । मुलुकै सबैभन्दा जेठो वीर अस्पतालका चिकित्सक पनि बिहान हाजिर गरेर सिधै अनशनस्थल आएर बस्ने गरेका छन् । चिकित्सक संघको अगुवाइमा १४ माघबाट उनीहरू त्रिवि शिक्षण अस्पतालको प्रांगणमा धर्ना बसिरहेका छन् ।

सरकारी अस्पतालमा नियमितजसो जागिर पाक्ने भएपछि उनीहरू बिरामीलाई केही दिनदेखि जाँचिरहेका छैनन् । जसको प्रत्यक्षमार बिरामीले भोगिरहेका छन् । तर, बिरामीसँग चर्को महसुल असुलेर उपचार गर्ने निजी अस्पतालमा भने सोही चिकित्सक नियमित जाने गरेका छन् ।

डा गोविन्द केसीको मागको समर्थन गर्दै धेरै चिकित्सकहरू अस्पतालमा गई आफ्नो ड्युटी समयसम्म आन्दोलन गर्ने र त्यसपछि निजी अस्पतालमा गएर जागिर खाने गरेपछि त्रिवि शिक्षण अस्पतालमा बिहीबार सर्वसाधारणले विरोधसमेत गरेका छन् । तर, केसी पक्षले सो आन्दोलन सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीको निर्देशनमा भएको आरोप लगाएका छन् ।

राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत केही चिकित्सक अहिले त्यहाँ भेटिँदैनन् । तर, उनीहरू निजी अस्पतालमा भने बिहान र बेलुका सजिलै भेटिन्छन् । चिकित्सक संघको कार्यकारी समितिका सदस्यसमेत रहेका डा बद्री रिजाल, डा विकास केसी, डा कृष्ण बुढाथोकी लगायतका चिकित्सक दैनिकजसो अनशनमा जाने गरेका छन् । उनीहरू कार्यालय समयमा अस्पतालमा भने भेटिँदैनन् ।

तर, केसी बिहान र बेलुका भने अल नेपाल अस्पताल सामाखुसीमा कार्यरत छन् । उनी बिहान एक घण्टा र बेलुका एक घण्टा सो कार्यालयमा बिरामी जाँच्ने गरेका छन् । बुढाथोकी नेपाल अर्थोपेडिक जोरपाटीमा कार्यरत छन् भने केसी सुमेरु अस्पतालमा काम गर्दछन् ।

यस्तै, अनशनरत अन्य चिकित्सकहरूको हालत पनि उस्तै छ । सरकारी अस्पतालमा आउँदा घाम ताप्ने बिरामीलाई सेवा नदिने, आन्दोलन गर्ने त्यसपछि निजी अस्पताल र क्लिनिकमा गएर चाहिँ उपचार गर्ने गरेका छन् । यसरी हेर्दा बिरामीहरू निजीमा गई महँगो शुल्कमा उपचार गर्न बाध्य छन् । यस्ता धेरै चिकित्सकहरू अहिले डा केसीको समर्थन गर्ने भन्दै अनशनको बहानामा काम नगरी फर्कने गरेका छन् । यस आन्दोलनको मुख्य मार भने बिरामीलाई परेको देखिन्छ ।

कतिपय डाक्टर बाहिरी जिल्लामा समेत उपचारमा निस्कने गरेका छन् । नेपाल चिकित्सक संघले डा केसीको जीवनरक्षाका लागि भन्दै शुक्रबार आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने निर्णय गरेको छ । मानवीय संवेदनशीलतालाई समेत ख्याल नगर्दै चिकित्सकले सेवा बन्द गर्ने घोषणा गरेका हुन् ।

संघीय संसद्बाट विधेयक पारित भएपछि संघको बिहीबार बसेको आकस्मिक बैठकले शुक्रबार देशभरका सरकारी, निजी अस्पताल तथा मेडिकल कलेजमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने निर्णय गरेको छ । संघले विज्ञप्तिमा आन्दोलनका कारण स्वास्थ्य क्षेत्रमा उत्पन्न हुने कुनै पनि परिस्थितिको जिम्मेवार नेपाल सरकार नै हुने उल्लेख गरेको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अनशनरत केसीलाई भेटेर अनशन तोड्न आग्रह गरेका छन् । नेता गगन थापासँगै अनशनस्थल त्रिवि शिक्षण अस्पताल पुगेका उनले अनशन तोडेर आन्दोलनको अर्को मोर्चाबाट जान सुझाव दिएका हुन् ।

सभापति देउवा आउनुभन्दा केही समयअगाडि पूर्व–स्वास्थ्यमन्त्रीसमेत रहेका नेता थापाले डा। केसीलाई एक्लै भेटेर फर्किएका थिए । त्यसको केही समयपछि उनी देउवालाई लिएर भेट्न आएका थिए ।

प्रकाशित मिति: १८ माघ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्