पार्टी एकताले चाँडै अन्तिम रुप लिन्छ प्रधानमन्त्री ओली


 


काठमाडौँ, प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले सही बाटो र नीति लिएको उल्लेख गर्दै पार्टी एकताको प्रक्रियाले चाँडै अन्तिमरुप लिने बताउनुभएको छ ।

नेकपाका सांसदहरुसँग आज बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले पार्टीको नीति र विधिभित्र रहेर आफ्ना कुरा राख्न सुझाव दिनुभयो । “पार्टीको एकता प्रक्रिया टुङ्गोमा नपुग्दा केही अन्योल भएको छ तर अब चाँडै यो प्रक्रियाले अन्तिम रुप लिन्छ,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “त्यसपछि पार्टीका नीति निर्देशन, स्थानीय तहमा पुग्छन् । त्यसपछि स्थानीय तहहरुलाई निर्देशित गर्न पनि सजिलो हुन्छ ।”

तत्कालीन नेकपा (एमाले)ले र नेकपा (माओवादी केन्द्र)बीच गत जेठ ३ गते एकता भए पनि तल्ला तहको एकीकरणका लागि कार्यदलले काम गरिरहेको छ ।

प्रधानमन्त्री ओलीले समय मिलाएर संसदीय दलको बैठक नियमित राखिने तथा सांसदहरुलाई विभिन्न विषयमा प्रशिक्षित गरिने जानकारी दिनुभयो । उहाँले मन्त्रीहरुलाई सांसदहरुसँग घनिष्ट सम्बन्ध राख्न आग्रह गर्नुभएको छ । “कतिपय अवस्थामा मन्त्रीहरु सिधै जनतासँग जोडिन सकेका हुँदैनन्, त्यसका लागि सांसदहरुमार्फत मन्त्रीहरुले जनताका कुरा सुन्ने र आफ्ना कुरा जनताा पठाउने हो,” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रकाशित मिति: १८ माघ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्