गोविन्द केसीलाई अनसन तोड्न चौतर्फी दबाव


 


काठमाडौं  माघ १८

अनसनरत डा. गोविन्द केसीलाई अनसत तोड्न चौतर्फी दबाब भएको छ । आफूसँग भएको सहमतिअनुसार चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गर्नुपर्नेलगायतका माग राखेर २४ दिनदेखि अनसनरत डा. केसीलाई पूर्वराष्ट्रपति डा. रामवरण यादव, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र नागरिक अगुवाहरुले अनसन तोड्न आग्रह गरेका हुन् ।

बिहीबार डा. केसीलाई भेट्न अनसनस्थल त्रिवि शिक्षण अस्पताल पुगेका देउवाले अनसन तोडेर फरक हिसाबले लड्न केसीलाई आग्रह गरेका थिए । त्यस्तै शुक्रबार केसीलाई भेटेर पूर्वराष्ट्रपति यादवले पनि अनसन तोड्न आग्रह गरेका थिए ।

पूर्वप्रधानन्यायाधीश कार्की, पूर्वसभामुख दमननाथ ढुंगानालगायत नागरिक अगुवाले पनि शुक्रबार बक्तव्य जारी गरेर अनसन तोड्न केसीलाई आग्रह गरेका थिए । उनीहरुले कमजोर स्वास्थ्य अवस्थाको ख्याल गर्दै अनसनबारे पुनर्विचार गर्न आग्रह गरेका हुन् । ‘आमरण अनसन अन्त्य गरी यहाँले जारी राख्ने सत्याग्रहको अन्य स्वरुपमा हाम्रो ऐक्यवद्धता रहने जानकारी गराउँछौं’ अपीलमा भनिएको छ ।

चिकित्सा शिक्षा सम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्च स्तरीय कार्यदलका अध्यक्ष केदारभक्त माथेमा लगायतका पदाधिकारीले पनि केसीलाई अनसन तोड्न आग्रह गरेका छन् । माथेमासहित प्रा. डा. मदन उपाध्याय, प्रा. डा. रमेशकान्त अधिकारी, प्रा. डा. अर्जुन कार्की र प्रा. डा. भगवान कोइरालाद्वारा जारी विज्ञप्तिमा चिकित्सा शिक्षा ऐनसम्बन्धी हालसम्मका उपलब्धिहरु संस्थागत गर्नका लागि डा केसीको निरन्तर सक्रियता आवश्यक भएकाले सत्याग्रहमा पुनर्विचार गर्न आग्रह गरिएको छ ।

उनीहरुले सरकारलाई आगामी दिनमा उक्त ऐनका प्रावधानहरु उच्चस्तरीय कार्यदलको प्रतिवेदनको मर्मअनुसार हुने गरी सुधार गर्दै जान आग्रहसमेत गरेका छन् ।

प्रकाशित मिति: १८ माघ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्