प्रचण्डबाट पाँच आयोजनाको एकै दिन शिलान्यास


 


चितवन पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहरी विकास मन्त्रालयमार्फत भरतपुर महानगरपालिकामा संचालन हुन लागेको ५ वटा नयाँ आयोजनाको बिहिबार एक कार्यक्रमका बीच शिलान्यास गर्नुभएकाे छ। भरतपुरको केन्द्रीय बसपार्कमा आयोजित कार्यक्रममा आयोजनाको शिलान्यास गर्नुभएको हो ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष प्रचण्डले भरतपुर महानगरपालिकालाई नमूना महानगर बनाउन यी आयोजनाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । ‘पाँच बर्ष नपुग्दै भरतपुर महानगरपालिका देशकै नमुना बन्ने छ, उहाँले भन्नुभयो, ‘सबैले संकल्प गरौ, यहाँबाट देशलाई नयाँ सन्देश दिन जरुरी छ ।’

प्रचण्डले यी आयोजनाहरु सा–साना आयोजना भएपनि महानगरलाई सभ्य र सुसंस्कृति अर्थ राख्ने खालको भएको बताउनुभयो । देशलाई विकास निर्माणमार्फत समृद्धि लैजाने सुनौलो अवसर भएको भन्दै उहाँले यसको सदुपयोग गर्न सबै जना लाग्नुपर्ने बताउनुभयो ।

यस्ता छन् आज शिलान्यास भएका ५ वटा नयाँ आयोजना

शहरी विकास मन्त्रालयको पाँच वटा आयोजनाहरुमा भरतपुर–९ स्थित केन्द्रीय बसपार्कको निर्माण सुधार गर्न रु १४ करोड २४ लाखको लागतमा रविना कन्स्ट्रक्सनलाई २ बर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको छ ।

भरतपुर–६ स्थित लक्ष्मीनारायण तथा ओमर्काश्वर मन्दिर तथा पार्क निर्माण गर्न रविना कन्स्ट्रक्सनसँग रु१६ करोड ९२ लाख ४३ हजार लागतमा ठेक्का सम्झौता भएको छ । आयोजना अन्तर्गत भरतपुर अस्पतालमा बिरामी कुरुवा घर निर्माण गर्न रु १० करोड ४८ लाख २६ हजार लागतमा रविना/जोशी/फुलजोर जेभी बिजुलीबजार काठमाडौँसँग २ बर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको छ ।

त्यस्तै भरतपुर–१९ स्थित रानीपोखरीमा पार्क तथा पूर्वधार निर्माणका लागि २ बर्षभित्र नै निर्माण सम्पन्न गर्ने गरी रविना कन्स्ट्रक्सनले रु १४ करोड ६७ लाख ७६ हजार लागतमा ठेक्का पाएको छ । यस्तै भरतपुर–१ स्थित देवघाटमा विद्युतिय शवदाह भवन निर्माण गर्न काठमाडौँ कोटेश्वरको मिलिनियम÷सिद्धगढी जेभीले दुई बर्षभित्र सक्ने गरि रु १६ करोड ९५ लाख ६४ हजारमा निर्माण गर्न सम्झौता भएको छ ।

प्रकाशित मिति: १८ माघ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्