माइतीबाट ३ लाख ल्याएपछि विवाद, हत्याको आशंका


 


बुटवल । शुक्रबार गुल्मीमा एक विवाहित युवतीको शव रहस्यमय अवस्थामा फेला परेको छ । गुल्मीको रुरु गाउँपालिका – ४ बलेटक्सार रानीवासस्थित विक्रम सुनारकी १८ वर्षीया श्रीमती रक्षा सुनारको उनकै घरमा रहेको आकाशे पानी संकलन गर्ने ट्याङकीमा रहस्यमय अवस्थामा शव फेला परेको हो ।

अर्घाखाँचीको पाडेनी गाउँपालिका – ५ मैदानस्थित उनका माइतीजनले रक्षाको परिवारकै सदस्यबाट हत्या भएको आशंका गरेका छन् । बिहीबार साँझ मात्रै छोरी रक्षाले फोन गरेर बाबा मलाई लिन आउनुस् म यहाँ बस्न सक्ने अवस्था भएन भनेर भनेको उनका पिता पर्शुराम सुनार

रक्षाले सन्धीखर्कमा रहेकी दिदी रोखा सुनारलाई समेत रुँदै फोन गरेर आफूलाई घरमा गालीगलौज गरेर बस्न नसक्ने भएँ भन्दै फोन गरेको परिवारजनले बतायो । उनले हिजै साँझ आफ्नी आमालाई पनि फोन गरेर आफ्नो अवस्था बताउँदै बाबालाई लिन पठाइदिनुस् भनेको सुनार परिवारले जानकारी दिए ।

‘एक्कासी आज विहान करिब १० बजेतिर मलाई फोन गरेर तपाईकी छोरी बिरामी परेर सिरियस् छिन भनियो, पछि अर्का आफन्तमार्फत ट्याङकीमा डुबेर ज्यान गएको भनियो,’ रक्षाका बाबुले भने, ‘त्यति अग्लो र गोलो ट्याङकीमा उक्लिने ठाउँ नै छैन, कहाँबाट माथि पुगिन छोरी ? यदि पानी झिक्न उक्लेकै भएपनि पानी झिक्ने बाल्टी वा कुनै भाँडा त्यसभित्र डुब्नुपर्ने कुनै भाँडा छैन ।’

बाबु गोपीकाअनुसार गत बर्ष मंसिर २९ गते रक्षाको विक्रमसँग मन्दिरमा विवाह भएको थियो । दुवै परिवारबीच विधिवत् विवाह गरिएपनि ढोग–भेटा भने गरिएको छैन ।

ससुरालीबाट ३ लाख लिएपछि थप तनाव
विक्रमको घरमा बाबुआमाले नसहेपछि उनीहरुले दिगाम भन्ने ठाउँमा सुनचाँदी पसल खोलेका थिए । ‘ज्वाईंले उनलाई दिगाम भन्ने ठाउँमा सुन चाँदी पसल खोलेर आफूसँगै राख्नुभएको थियो । त्यही क्रममा पुस २१ गते दिउँसो छोरीज्वाईं सँगै माइती आए,’ रक्षाका बाबु थपे, ‘पसल गर्छौं ३ लाख रुपैयाँ दिनुप¥यो भनेर ज्वाईंले भनेपछि अर्को दिन २२ गते मैले ३ लाख रुपैयाँ जुटाएर दिएँ ।’

रक्षाका बाबुको भनाई जस्ताको त्यस्तैः–
‘ज्वाईंले रक्षालाई माइतीमै छाडेर पैसा लिएर गए । अस्ती (आइतबार) मात्र छोरीलाई घर पठाएको थिएँ । छोरी घर गएदेखि कचकच सुरु भएछ । छोरीले कि पसल गर्नुस् कि त बाबाको त्यो पैसा फिर्ता गर्नुस भन्न थालिछन् । त्यही बिषयमा छोरीलाई तनाव सिर्जना गर्न सुरु गरिएछ ।’

‘हिजो साँझ मात्र होइन, बिहान पनि छोरीले मलाई लिन आउनुस् भनेर फोन गरेकी थिइन् । हिजो साँझ ज्वाईंसँग कुरा गर्दा उहाँ म सँग पनि झर्केर बोल्नुभयो । यसबाट छोरी आफैँ डुबेर होइन, कसैबाट हत्या नै भएको हो । अहिले पनि रक्षाको शव श्रृंङ्गा उपस्वास्थ्य चौकीमा राखिएको छ ।’

उनको शव माइतीजन नआउँदै चौकी पुर्याइयो । घटनाबारे अनुसन्धान गर्न प्रहरीलाई घटनास्थलमा पठाएको र उनको शव जिल्ला अस्पताल ल्याउन थालिएको जिल्ला प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेतले जानकारी दिए ।

रक्षाको घरमा उनका अलवा ३ जना मात्रै रहेको तर आफूहरु तीनैजना घर नभएको र आफैँ डुबेर मरेको परिवारजनको दावी छ ।

प्रकाशित मिति: १९ माघ २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्