काँग्रेसको कार्यकर्तालाई निर्देशन शनिबार सरकारी गाडी चलाए जलाइदिनू
पोखरा, १९ माघ
काँग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले शनिबार पोखरा महानगरपालिकाको गाडी जलाएको छ ।
सरकारविरुद्ध आन्दोलनरत नेविसंघले पोखरा–७ मासबारमा बा१झ ५८७९ नम्बरको गाडी जलाएको हो । शनिबार सार्वजनिक बिदाका दिन चलाएकाले सरकारी गाडी जलाइएको नेविसंघले जनाएको छ । संघका पूर्वकेन्द्रीय सदस्य सरोज केसीले बिदाका दिन सरकारी गाडी चलाए जलाउने केन्द्रीय नीति भएको बताए । महानगर प्रशासनले पोखरा महानगरपालिकाका शिक्षा विभाग प्रमुख हेमप्रसाद आचार्यलाई लिन गएको गाडीमा आगजनी गरिएको बताएको छ । तत्कालै गएको दमकलले आगो निभाएको भए पनि गाडी जलेर पूर्णरुपमा नष्ट भएको छ ।
काँग्रेसले दुई तिहाइको कम्युनिष्ट सरकार अधिनायकवादी शैलीमा अघि बढेको आरोप लगाउँदै देशव्यापी आन्दोलन घोषणा गरेको छ ।
प्रकाशित मिति: १९ माघ २०७५, शनिबार












