ओली सरकार ढाल्न काँग्रेससँगै सडकमा उत्रने भए गोविन्द केसी



काठमाडौं १९ माघ– चिकित्सा शिक्षा सुधारको माग गर्दै आमरण अनशनमा बसेका गोविन्द केसीले १६ औं पटकको अनसन शुक्रबार २४ औं दिनमा तोडे ।

केसी अनसनमा बसिरहेकै बेला प्रमुख प्रतिपक्षी काँग्रेसको अवरोधबीच संघीय संसदको दुवै सदनबाट चिकित्सा शिक्षा विधेयक पारित भएपछि केसीको अनसनको औचित्यमा प्रश्न उठेको थियो । सरकारले केसीका ९५ प्रतिशत माग विधेयकले सम्बोधन गरिसकेकाले उनीसँग थप वार्ता र संवाद जरुरी नभएको प्रतिक्रिया दियो । केसी र सरकार आ–आफ्नै हठबाट टसमस नभइहेका बेला काँग्रेस सभापति शेरबहादुर देउवाले केसीलाई अनशनस्थल त्रिवि शिक्षण अस्पताल पुगेर बिहीबार भेटे । देउवाले सरकारले टेर्ने छाँट नदेखिएकाले जीवन जोखिममा नराख्न र अनशन तोड्न आग्रह गरे । केसीले काँग्रेस सभापतिको आग्रह स्वीकार गरे । भेटमा देउवा र केसीबीच वर्तमान केपी ओली नेतृत्वको सरकारविरुद्धको आन्दोलनमा सहकार्य गर्ने सैद्धान्तिक सहमति पनि भयो । केसीले अनशन तोड्ने क्रममा विपरित प्रेस विज्ञप्तिमा त्यसको स्पष्ट छनक देखिएको छ ।

केसीले विज्ञप्तिमा अनशन तोडे पनि फरक ढंगले आन्दोलन जारी राख्ने उल्लेख छ । काँग्रेसले पनि सरकार दुई तिहाइको दम्भसहित अधिनायकवादी बाटोमा अग्रसर भएको भन्दै देशव्यापी आन्दोलन घोषणा गरिसकेको छ । केही समयअघि केसीको अभियानमा सक्रिय कानूनव्यावसायी ओमप्रकाश अर्यालले नेकपाको सरकार सडकबाटै ढाल्ने चेतावनी दिएका थिए । सोही पृष्ठभूमिका देउवा र केसीबीच सरकारविरुद्ध मोर्चाबन्दीमा सँगै उभिने सहमति भएको दाबी श्रोतको छ । १५ औं अनशनसम्म विशुद्ध चिकित्सा क्षेत्र सुधारको माग गर्दै आएका केसीका केसी समर्थकले १६ औं अनशनका क्रममा आफ्नो स्वार्थसिद्धीका लागि केही राजनीतिक मागसमेत उठाउन लगाए । जसमा सशस्त्र माओवादी जनयुद्धकालमा घटेका घटनाका दोषी तथा कञ्चनपुरकी बालिका निर्मला पन्तका बलात्कारीमाथि कारबाहीको माग थिए ।

ती मागपछि केसीलाई हरेक पटकको अनशनमा साथ दिँदै आएको ठूलो हिस्साले उनको साथ छाड्यो । त्यहीबीचमा केसीले प्रधानमन्त्री केपी ओलीको मानशिक अवस्थाबारे गम्भीर आरोप लगाउँदै विज्ञप्ति जारी गरेपछि झन् उनको पक्षमा माहोल कमजोर बन्न पुग्यो । अनशनप्रति जनसमर्थन कमजोर हुँदै गएपछि र सरकारले वार्तासमेत नगर्ने अडान लिएपछि केसीले ‘सेफ ल्याण्डिङ’ चाहेका थिए । त्यहीबीचमा काँग्रेस र काँग्रेस निकट नागरिक अगुवाले उनलाई अनशन तोड्न आग्रह गरेको र केसीले उनीहरुको आग्रहमा अनशन छाडेको सन्देश दिने गरी ‘सेफल्याण्डिङ’ को बाटो रोेजे ।

प्रकाशित मिति: १९ माघ २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्