केसीले जुस पिउँदा तिर्खायो कांग्रेस, निर्मला हत्याकाण्ड एक औजार बाँकी
काठमाडौं । २१ माघदेखि देशभर प्रर्दशनको तयारीमा जुटेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग प्रमुख दुई माग थिए । चिकित्सा शिक्षा बिधेयकसँगै डा. गोविन्द केसीको अनशन र दुई नेताका नाममा रहेका अस्पताल केन्द्र सरकार मातहत ल्याउनु पर्ने ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका यी दुई मागहरु अब सडक र सदनका बिषय बन्न सक्ने छैनन् । तनहुँमा रहेको गिरिजाप्रसाद कोइराला स्वासप्रश्वास केन्द्र र बाँकेमा रहेको सुशील कोइराला क्यान्सर अस्पलालाई मन्त्रीपरिषदको बैठकले केन्द्र सरकार मातहत ल्याइसकेको छ भने भने चिकित्सा शिक्षा बिधेयक दुवै सदनबाट पारित भएर डा. गोविन्द केसीले अनसन तोडिसकेका छन् ।
सडक र सदन अवरोध गर्ने कांग्रेसका दुई मुद्दा शुक्रवारदेखि तत्काललाई समाप्त भइसकेका छन् । कांग्रेससँग अब दुई मुद्दा बाँकी छन् । मौलिक मुद्दा नभएपनि कांग्रेसले निर्मला हत्याकाण्ड र संबैधानिक परिषद बैठकलाई आफ्नो विरोधको औजार बनाउने भएको छ । निर्मला पन्तका लागि न्याय माग्न सडकमा आउने र सदन बन्द गर्ने कांग्रेसको अब नयाँ माग हुनेछ । जुन माग पहिलेदेखि विवेकशिल साझा पार्टीेले आफ्नो मुल मुद्दा बनाइसकेको छ भने हत्याका अनुसन्धान केही ब्यक्तिको लहडमा चल्ने बिषय पनि होइन । कांग्रेसले उठाएको यो मागले सदन र सडक अबरुद्ध हुन सक्ला तर सरकारलाई धेरै कमजोर पार्न सक्नेछैन ।
कांग्रेससँग अर्काे एजेण्डा छ । प्रमुख प्रतिपक्षका दलका नेता शेरबहादुर देउवा अनुपस्थित संबैधानिक परिषदको बैठकबाट संबैधानिक निकायका अध्यक्षहरु नियुक्त गरिएको छ । संबैधानिक परिषदमा प्रमुख प्रतिपक्ष दलको नेता सदस्य रहने कानुनी प्रावधान छ । तर देउवा नभएका बेला बसेको परिषदको बैठकले केही संबैधानिक निकायको अध्यक्षमा नियुक्ति दिएको छ ।
कांग्रेसका लागि यो मौलिक माग पनि हो । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षमा बसेको बैठकले गरेको यो निर्णय नेकपाभित्र पनि विवादको बिषय बनेको छ । पूर्व कर्मचारीलाई मात्र संबैधानिक निकायको अध्यक्ष पदमा सिफारिस गरेको भन्दै नेकपा नेताहरुले प्रधानमन्त्रीको भित्री आलोचना गरेका छन् । यो मुद्दामा सत्तापक्षका केही नेताको समेत कांग्रेसले साथ पाउने देखिन्छ ।
प्रकाशित मिति: १९ माघ २०७५, शनिबार












