एक नम्बर प्रदेश सभाको हिउँदे अधिवेशन सुुरु


 


विराटनगर, २० माघ 

एक नम्बर प्रदेश सभाको हिउँदे अधिवेशन आइतबारदेखि विराटनगरमा सुुरु भएको छ ।

विराटनगर स्थित प्रदेश सभा भवनमा सुरु भएको प्रदेश सभाको तेश्रो तथा हिउँदे अधिवेशनमा प्रदेश प्रमुखद्वारा अधिवेशन आव्हान सम्बन्धी पत्र सभामुख प्रदीप भण्डारीले पढेर सुनाउनु भएको थियो । विधेयक अधिवेशन भनिने हिउदे अधिवेशनमा यस पटक ६ वटा विधेयकहरु पेश गरिने बताइएको छ ।

हिउँदे अधिवेशनको पहिलो दिन प्रदेश सभामा सहभागी ५ वटा दलका सांसदहरुले प्रदेश सभालाई सहमति र सहकार्यका आधारमा संचालन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

यसरी धारणा व्यक्त गर्नेहरुमा नेकपा संसदीय दलका उपनेता टंक आङ्बुहाङ, नेपाली कांग्रेस संसदीय दलका नेता राजिव कोइराला, संघिय समाजवादी फोरमका नेता जयराम यादव, राप्रपाकी इन्दिरा राई र संघिय लोकतान्त्रिक राष्ट्रिय मंचकी विष्णु तुम्बाहाम्फे हुनुहुन्थ्यो ।

यसपटकको हिउँदे अधिवेशनमा प्रदेशको राजधानी र नामाकरण, संसदीय समितिको सभापति चयन र केही अत्यावश्यक विधेयकहरु प्रस्तुत गरिने कार्यसूची रहेको छ ।

प्रदेश सभाको बैठक माघ २३ गतेसम्मका लागि स्थगित गरिएको छ ।

प्रकाशित मिति: २० माघ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्