ललितपुर सफाईको महाअभियान जारी


 


सुदीप अधिकारी

ललितपुर, माघ २०

ललितपुर – चक्रपथ सरसफाई तथा सुन्दरता अभियानले चक्रपथको महत्वपूर्ण ललितपुर खण्डको दोश्रो चरणको अभियान अघि बढाएको छ । अभियानलाई ललितपुर – ३ का प्रतिनिधिसभा सांसद पम्फा भुषाल, ललितपुर महानगरपालिकाका मेयर चिरिवावु महर्जन, स्थानीय संघसंस्था, नागरिक समुदाय तथा सफाई क्षेत्रमा क्रियाशिल संघसंस्थाले साथ दिएका थिए ।

ललितपुर महानगरलाई सरसफाई तथा स्वच्छतामार्फत सुन्दर बनाउन अभियान अगाडि बढ्दा सांसद, मेयर तथा नागरिक अगुवाहरु यसरी झाडु लिएर सडकमा आएका थिए । सांसद भुसाल, महानगर मेयर महर्जन लगायत प्रदेश सांसद राजकाजी महर्जन, महानगर उपप्रमुख गीता सत्यालको पनि सफाई अभियानमा सक्रिय सहभागिता थियो ।

सामाजिक व्यक्तित्वहरुको सहभागितामा भएको अभियानमा स्थानियबासीलाई क्रमश सहभागि गराईदै लगिने अभियानका संयोजक लक्ष्मीप्रसाद गेलालले बताउनु भयो ।

अभियानका कान्छा अभियन्ता एकराज आचार्यका अनुसार ’कम्तीमा आफ्नो घर अगाडि वा ब्यवसाय गर्नेले ब्यबसाय स्थल अगाडि मात्रै सफाई गर्ने गरेपनि ललितपुर आफै सफा बन्छ ।’ उनको जोड थियो,’ शहर र आफ्नो ठाउँ सफा राख्न स्थानियबासी आफै सफाईमा चेतनशिल बन्नु पर्छ ।’

वागमती सफाई अभियान, हनुमन्ते सफाई अभियान, चक्रपथ सफाई अभियान लगायतका बिभिन्न अभियानहरुबाट प्रेरित भएर ललितपुरमा विगत लामो समयदेखि फोहोरमैलाको प्राविधिक व्यवस्थापनमा काम गर्दै आएका संघसंस्थाहरु मिलेर अभियानको सुरुवात गरेको अभियानका फोकल पर्सन लक्ष्मीप्रसाद घिमिरेले बताउनुभयो ।

माघ १२ गतेबाट शुरु गरिएको अभियानको यो दोश्रो हप्ता हो । अभियान अन्तर्गत दोश्रो पटक एकै दिनमा मात्रै ५ टन फोहोर संकलन गरिएको थियो ।

प्रकाशित मिति: २० माघ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्