साउदी दूतावासमा व्यवसायीलाई सास्ती


 


काठमाडौं माघ २१

नेपालस्थित साउदी दूतावासमा भिषा प्रक्रियामा समस्या झेल्नुपरेको व्यवसायीहरुले गुनासो गरेका छन् । सामान्य प्राविधिक समस्या हुँदा पनि दूतावासले दूतावासबाट जारी गरिएको साउदी आइडी नै निलम्वन गर्ने गरेको व्यवसायीहरुको भनाइ छ ।

म्यानपावर कम्पनीले पेश गरेका राहदानीमा साउदी दूतावासले व्यवसायीहरुलाई उपलब्ध गराएको आईडी बार कोड मिलेन भनेर व्यवसायीको आईडी कार्ड नै कम्तीमा १५ दिनदेखि एक महिनासम्म निलम्बन गरिदिने गरिएकोले साउदी दूतावासमा राहदानी पेश गर्नु अघि सचेत हुनपर्ने व्यवसायीहरुको भनाई छ ।

दूतावासमा व्यवसायीले पेश गरेकामध्ये आधा राहदानीमा भिषा लगाएर वाँकीमा वारकोड मिलेन भनेर समस्या खडा गर्ने गरेकोपनि व्यवसायीहरुले बताएका छन् । दूतावासमा केही समय अघि आएका युवा कन्सुलरले चाहिनेभन्दा बढी कडाई गरेका कारण समस्या बढेको उनीहरुको अनुभव छ ।

व्यवसायीले अनुरोध गर्ने गरेपनि उनले त्यसको सुनुवाई गर्न चासो नदेखाएका कारण नेपालबाट दैनिक साउदी जाने नेपाली युवा प्रभावित भएको बताइएको छ । ‘दूतावासले एक्कासी आइडी कार्ड लिइँदिदा म्यानपावर कम्पनीहरुको अन्य प्रक्रिया अवरुद्ध हुने गरेको छ’ एक व्यवसायीले भने ‘प्राविधिक समस्या देखिए भीषा नलगाइदिए हुने, आइडी सस्पेन्ड गर्नु जरुरी थिएन ।’

यसअघि साउदी अरबमा काम गर्न चाहने युवाहरुको भिषा प्रक्रिया पूरा गराइदिने व्यवसायीलाई दूतावासले प्रवेश नै नदिने गरेको गुनासो आउने गरेको थियो । साउदी आइडीको मिति सकिनुभन्दा १० दिन अगाडि मिति थप गर्नका लागि आवश्यक कागजपत्र पेश गरिए पनि दूतावासले कतिपयको मिति पनि नथप्ने र प्रवेश पनि नदिने गरिएको व्यवसायीको गुनासो छ ।

प्रकाशित मिति: २१ माघ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्