कांग्रेसबाट निर्वाचित मेयर र वडाध्यक्ष विद्युत चोरीमा



रौतहट, माघ २१ रौतहटको गढीमाई नगरपालिकाका प्रमुख र वडाध्यक्ष विद्युत चोरीमा संलग्न रहेका पाइएको छ। नेपाली कांग्रेसबाट निर्वाचित प्रमुख श्यामप्रसाद यादव, सोही नगरपालिका–६ का वडाध्यक्ष रामसिंहासन यादव र गरुडा नगरपालिका–१ का वडाध्यक्ष सरोज राय यादव विद्युत चोरीमा संलग्न रहेको पाइएको हो ।

नेपाल विद्युत प्राधिकरणको विद्युत चुहावट नियन्त्रण महाशाखा काठमाडौंबाट खटिएको टोलीले प्रमुख यादव (ग्राहक नं। ००८-१३-०१) र वडाध्यक्ष यादव (ग्राहक नं. ०७-२०-०३ ए) र वडाध्यक्ष सरोज राय यादव (ग्राहक नं. १८-०८-१९)ले आफ्नो घरमा विद्युत चोरी गरी प्रयोग गरेको फेलापारेको हो। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गौर क्षेत्रमा विद्युत चोरी अत्यधिक रहेको गुनासो आएपछि महाशाखाका इन्जिनियर प्रदीपकुमार शर्माको नेतृत्वमा छड्के जाँच टोली खटाउनु भएको थियो ।

जनताबाट निर्वाचित प्रमुख र वडाध्यक्ष नै विद्युत चोरीमा संलग्न हुनु दुर्भाग्यपूर्ण रहेको घिसिङले बताउनु भयो । वडाध्यक्ष यादव भने संघीय समाजवादी फोरम नेपालबाट निर्वाचित भएका हुन् ।

टोलीले गत १४ देखि २० माघसम्म रौतहटमा गरेको छड्के चेकजाँचको क्रममा गढीमाई नगरपालिकाको बिनगरमा रहेको दुईवटा घरमा मेयर श्यामप्रसाद यादवले हुकिङ गरी विद्युत् प्रयोग गरिरहेको फेला पारेको हो । टोली प्रमुख शर्माले हुकिङ गरेर प्रयोग गरिएको लाइन काटिएको तर सुरक्षाका कारण मेयरको घरमा राखिएको मिटर खोल्न नसकिएको जानकारी दिनुभएको छ ।

‘घर पछाडि रहेको प्राधिकरणको वितरण लाइनबाट हुकिङ गरेर ल्याएको तारबाट एउटा घरमा बिजुली प्रयोग गरिएको रहेछ, त्योभन्दा अलि पर रहेको अर्को घरमा मिटर छ, त्यहाँबाट पनि चोरी गरेर वत्ति वालिएको घरमा लाइन ल्याइएको छ’, उहाँले भन्नुभयो, ‘त्यो घरमा चोरी गरेको र नगरिएको दुवै लाइन जोडिएको रहेछ, हुकिङ काट्यौं तर चोरीको वत्ति प्रयोग गरिरहेको फेला परेपछि मान्छेको भीड जम्मा भयो उनीहरुले मिटर खोल्न दिएनन् ।’

टोलीले गढीमाई नगरपालिकाको वडा नम्बर ६ का वडाध्यक्ष रामसिंघासन यादवले आफ्नो घरमा, वडा कार्यालयमा र धरमपुर स्वास्थ्य चौकीमा चोरीको विद्युत प्रयोग भइरहेको फेला पारेको छ । ‘वडाध्यक्षको घरमा धेरै विद्युत खपत गर्ने सामाग्री प्रयोगमा रहेछन्, मिटरको सर्भिस केबल खोली राखेको तर हुकिङमार्फत घरमा वत्ति प्रयोग गरिएको रहेछ’, शर्माले भन्नुभयो, ‘त्यस क्षेत्रमा चोरी अध्याधिक रहेकाले विद्युत आपूर्ति गर्ने टान्सफर्मरबाट लाइन काटेर आएका छौं ।’

गरुडा नगरपालिका १ का वडाध्यक्ष सरोज राय यादवले मिटर बाइपास गरी घरमा बिजुली प्रयोग गरेका थिए । टोलीका अनुसार, वडाध्यक्षले आफ्नो घरमा मात्रै हैन दाजुभाइको घरमासमेत चोरीको विद्युत दिएका थिए ।

प्रकाशित मिति: २१ माघ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्