पौडेल र नेम्वाङलाई दायाँवायाँ राखेर प्रचण्डले भने संसारलाई आश्चर्यमा पार्ने काम गरेका छौ !


 


काठमाडौं फागुन १
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसारले नेपाललाई ध्यानपूर्वक हेर्नैपर्ने भएको बताएका छन् ।जनयुद्ध दिवसको अवसरमा बुधबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा प्रचण्डले यसले नेकपाको एकतालाई अझ सुदृढ बनाउने बताए ।उनले कम्युनिस्ट आन्दोलनको दुई धार (संसदीय बाटो र सशस्त्र विद्रोह) ले कुनै समय एकअर्कालाई सिध्याउने र आफू मात्र स्थापित हुने प्रयास गरेको स्मरण गरे । अहिले दुबै मिलेर मदन भण्डारी स्मृति दिवसमा पार्टी एकता गर्नु र विद्रोह थालेको दिन देशभर मनाउनु दुई ऐतिहासिक परिघटना भएको उनको दाबी छ ।

प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओली सरकारको एक वर्ष पुगेको अवसरमा नगरी नहुने कामको चापले मात्र कार्यक्रममा आउन नसकेको उनले बताए । दुबैको समझदारीबाट देशभर कार्यक्रम तय गरिएको भन्दै नेकपाका अध्यक्ष प्रचण्डले भने, ‘यसअर्थमा हामीभित्र नयाँ एकताको आधार बनाएको छ ।’पार्टी एकता ढिलो भएकोमा के होला भन्ने चिन्ता भइरहेका बेला भएको यो कार्यक्रमले केही दिनभित्र पार्टी एकता टुंग्याउने प्रेरणा दिएको समेत उनले बताए ।

उनले नेपालका कम्युनिस्टहरुले संसारलाई नै आश्चर्य पार्ने काम गरिरहेको बताए । जनयुद्ध, शान्ति सम्झौता, हतियार समायोजन, संविधान निर्माण र तीन तहको चुनाव सामान्य परिघटना नभएको भन्दै उनले भने, नेपालमा के हुँदैछ भनेर सांसरले तिखो आँखाले हेर्नुपर्ने र कान खोलेर सुन्नुपर्ने भएको छ ।’नेकपा अध्यक्ष प्रचण्डले ‘कन्फ्युजन र भ्रम’ छाडेर गोलबद्ध हुन सबै कम्युनिस्ट घटकहरुलाई आहृवान गरेका छन् । साथै प्रमुख विपक्षी कांग्रेसलाई विकास र समृद्धिको यात्रामा एक भएर अगाडि बढ्न आहृवान गरेका छन् ।

प्रकाशित मिति: १ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्