वर्षायामसँगै डेङ्गीको जोखिम बढ्दो, सतर्कता अपनाउन आग्रह



काठमाडौँ, २१ असार । वर्षायाम सुरु भएसँगै डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ।

महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालले लगातार वर्षा हुन थालेपछि पानी जम्ने स्थानमा डेङ्गी सार्ने लामखुट्टेको वृद्धि हुने भएकाले सङ्क्रमणको जोखिम बढ्ने बताएका छन्।

उनका अनुसार केही दिनयता परेको वर्षाका कारण डेङ्गी फैलाउने लामखुट्टे विकास हुने अनुकूल वातावरण बनेको छ। आकाशबाट परेको पानी घर, सडक तथा वरपरका भाँडा, खाल्डाखुल्डी र अन्य स्थानमा जम्दा त्यही पानीमा डेङ्गी सार्ने लामखुट्टे हुर्किने भएकाले सबैले विशेष सावधानी अपनाउनुपर्ने उनले बताए।

महाशाखाका अनुसार असार ९ गतेदेखि १५ गतेसम्म देशभर ६३ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ। अहिले दैनिकजसो वर्षा भइरहेकाले सडक, घर वरिपरि तथा अन्य स्थानमा पानी जम्न सक्ने भएकाले आगामी दिनमा सङ्क्रमण थप बढ्न सक्ने अनुमान गरिएको छ।

डेङ्गीबाट बच्न घर वरिपरि पानी जम्न नदिने, खाल्डाखुल्डी पुर्ने, नियमित सरसफाइ गर्ने, पानी राख्ने भाँडा ढाकेर राख्ने, सुत्दा झुलको प्रयोग गर्ने तथा लामखुट्टेको टोकाइबाट जोगिने उपाय अपनाउन डा. दाहालले आग्रह गरेका छन्।

उनका अनुसार डेङ्गी सङ्क्रमणको जोखिम असारदेखि कात्तिकसम्म उच्च रहने गर्दछ। सफा र जमेको पानीमा एडिस एजिप्टीएडिस एल्बोपिक्टस प्रजातिका लामखुट्टेले फूल पार्ने र त्यसबाट विकसित भएका वयस्क लामखुट्टेको टोकाइबाट डेङ्गी सर्ने भएकाले सम्भावित प्रजननस्थलको पहिचान गरी समयमै सरसफाइ गर्नु नै रोग नियन्त्रणको प्रभावकारी उपाय रहेको उनले बताए।

प्रकाशित मिति: २१ असार २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्