एक्लिदै रावल, यस्तो छ गणितीय अवस्था


 


काठमाण्डौ फागुन १ दुई तिहाईको सरकारमा मन्त्री हुन नपाएपछि पार्टी र सरकारको विरोधमा चर्को अभिव्यक्ति दिंदै आएका नेकपाका नेता भीमबहादुर रावलले केन्द्रमा त साख गुमाउदै गएका छन नै आफ्नो क्षेत्र सुदूरपश्चिम प्रदेशमा समेत एक्लिदै गएको खबर छ ।

सुदूरपश्चिमका नेता तथा कार्यकर्ताहरुले तल्ला कमिटीका नेता तथा कार्यकर्ताहरुलाई रावलले दुर्व्यहार गर्ने गरेका गुनासाहरु विगत एक दशकदेखि तत्कालीन एमालेका शीर्ष नेताहरुको बैठक कोठासम्म पुग्दै आएका छन ।

एकताका शीर्ष नेताहरुको चाकडी चाप्लुसी गरेर शक्ति हातमा लिइराख्ने र जिल्लाका नेता कार्यकताहरुमाथि डण्डा बर्साउने तरिका अपनाउदै आएका रावललाई हाल आएर तिनै नेता तथा कार्यकर्ताहरुले एकपछि अर्को गर्दै साथ छाड्न थालेपछि सुदूरपश्चिम प्रदेशमा एक्लिन थालेको चर्चा छ ।

पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र लोकेन्द्रबहादुर चन्द पछि प्रधानमन्त्रीको संभावना बोकेका भनि उनका अघिपछि हिड्नेहरु चर्चा गर्थे । रावलको तडकभडक हेर्दा त्यस्तो लाग्थ्यो पनि । स्रोत भन्छ, छैठौं महाधिवेशनदेखि सुदूरपश्चिम एमालेका शक्ति केन्द्र बने । त्यसपछि उनी घमण्ड, अहंकार र शक्तिकेन्द्र बनिरहन षडयन्त्र मात्र सोच्न थाले । त्यही अहंकारले उनको साख निरन्तर खस्किदै आयो र अहिले उनी एक्लिन थालेको सुदूरपश्चिमका नेता तथा कार्यकर्ताहरु बताउन थालेका छन ।

सुदूरपश्चिममा नेकपामा ३६ जना केन्द्रीय सदस्य छन । यसमा १४ जना तत्कालीन माओवादी केन्द्र र २२ जना तत्कालीन नेकपा एमालेबाट छन । तत्कालीन एमालेको यो संख्यामा भीमबहादुर रावलसंग कैलाली क्षेत्र नम्बर २ का सांसद झपटबहादुर रावल र प्रदेश सरकारका आन्तरिक मन्त्री प्रकाश शाहमात्र साथमा रहेको नेकपामा सुदूरपश्चिमबाट नेतृत्व गर्ने एकजना केन्द्रीय सदस्यले बताए । उनले भने नेता भीमबहादुर रावल सुदूरपश्चिम प्रदेशमा भयंकर अल्पमतमा छन ।

प्रदेशमा संघीय संसदमा तत्कालीन नेकपा एमालेबाट ११ जना सांसद छन । त्यसमा भीमको समर्थनमा झपटमात्र देखिएका छन । एकजना अर्का राष्ट्रिय सभामा अछामबाट प्रतिनिधित्व गर्ने सांसद शेरबहादुर कुुवर पनि भीमको पक्षमा छन । यी दुबै जना भीमबहादुर रावलका पूर्व पीए हुन । पीए बनाइदिएर गुन लगाएका कारण झपट र शेरबहादुर कहिल्यै पनि भीमबहादुर रावलको विरुद्धमा नजाने बताइन्छ । तर, पनि पछिल्लो अवस्थामा भीमबहादुर रावल झपट रावलसंग पनि तर्सने गरेको सुदूरपश्चिमका नेता तथा कार्यकता बताउछन ।

तत्कालीन एमालेको केन्द्रीय कमिटीमा बैकल्पिक सदस्य बनाउन भीमबहादुर इच्छुक नभएको रहस्य खोल्दै एकजना नेताले भने ‘‘युवा संघका पूर्व अध्यक्ष महेश बस्नेतसंग रोइकराई गरेर पार्टी अध्यक्ष केपी ओलीलाई जीवनभर मद्दत गर्छु भन्ने कसम खाएपछि मात्र झपट बैकल्पिक केन्द्रीय सदस्य बन्न सफल भएका हुन ।’’ पार्टी एकीकरणपछि झपट नेकपाको केन्द्रीय सदस्य छन ।

पार्टी अध्यक्ष केपी ओलीको आशीर्वादमा केन्द्रीय सदस्य भएका झपटले कैलाली क्षेत्र नम्बर २ बाट सांसद निर्वाचित भएपछि व्यवहारिकरुपमा धोका दिएको बुझाई ओली क्याम्प निकट नेता कार्यकर्ताहरुको छ । अध्यक्ष ओली समक्ष सिफारिस गर्ने नेकपाका नेता महेश बस्नेत पनि झपट रावलसंग आक्रोशित भएको खबर छ । अध्यक्ष ओलीको काँध चढेर नेता बन्ने तर पार्टी र सरकारको घोर विरोध गर्दै हिंड्ने भीमबहादुर रावलको पुच्छर बनेर हिंड्ने भनेर झपटको प्रवृत्तिको पनि आलोचना हुन थालेको छ ।

नेकपाबाट संघीय संसदमा सुदूरपश्चिमबाट १४ जना सांसद निर्वाचित छन । ती मध्ये ३ जना तत्कालीन माओवादी केन्द्रबाट छन । बा“की ११ मध्ये अछामका भीमबहादुर रावल र कैलाली क्षेत्र नम्बर २ का झपट रावल एकातर्फ छन भने बांकी नौ जना सांसदहरुको साथ रावल पक्षधरलाई नभएको नेकपा स्रोतको भनाई छ । बाजुराका सांसद लालबहादुर थापा, बझांङका भैरवबहादुर सिंह, डोटीको प्रेमबहादुर आले, अछामका यज्ञ बोगटी, दार्चुलाका गणेश ठगुन्ना, बैतडीका दामोदर भण्डारी, कैलालीका नारदमुनी राना, कञ्चनपुरका डाक्टर दीपक भट्ट र नरबहादुर धामी भीमबहादुर रावलको पक्षमा छैनन ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशबाट नेकपाको केन्द्रीय कमिटीमा परेका केन्द्रीय सदस्यहरु रामकुमार ज्ञवाली, लालबहादुर थापा, महेश्वर पाठक, निरा जैरु, पुरनसिंह दयाल, गरिमा शाह, प्रेमबहादुर आले, भैरवबहादुर सिंह, भानुभक्त जोशी, डाक्टर दिपक भट्ट, दीपक देवकोटा, गौरी ओली, लालबहादुर बिक, कर्णबहादुर थापा, लिला भण्डारी, बिक्रम शाही, राजेन्द्र रावललगायत एकातिर छन भने भीमबहादुर रावलसंग झपट रावल र बाजुराका प्रकाश शाह मात्र रहेका छन । यसरी प्रदेशमा गणितीयरुपमा पनि एक्लिएका भीमबहादुर रावल नयाँ समीकरणको अभ्यासमा रहेको नेता तथा कार्यकर्ताहरु बताउछन । उनले पुराना साथीहरुले साथ छाड्दै जान थालेपछि अहिले तत्कालीन कांग्रेस र पूर्व पञ्चहरुलाई नेकपामा भित्र्याउने योजना बनाएको नेकपाका एक जना नेताले बताए ।

पार्टी एकीकरण अघि रावलले प्रवेश गराएका राप्रपा डोटीका अध्यक्ष लालबहादुर कठायत, राप्रपा कैलालीका नेता राजेश भण्डारी, बैतडीका मोहन थापा र पुष्कर भट्ट, डोटीका गणेशदत्त भट्ट र डम्बरबहादुर सिंह, कञ्चनपुरका नन्दलाल चटौत र कैलाली चुरे क्षेत्रको जंगल मासेर करोडपति बनेका बन माफियाका नाममा प्रख्यात कर्ण कुवर समेतलाई नेकपाको सुदूरपश्चिम प्रदेश कमिटीमा सदस्य मनोनयन गरेका छन । यसरी नेकपामा भित्र्याएका पूर्वपञ्च र कांग्रेसहरुको साथ र सहयोगले नेकपाको राजनीतिमा भीमबहादुर रावल कति समयसम्म टिक्ने छन भन्ने प्रश्न उब्जिएको सुदूरपश्चिमका नेता तथा कार्यकर्ताहरु बताउछन । (साँघु साप्ताहिक २८ माघ)

प्रकाशित मिति: १ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्