‘प्रचण्डको टाउकोको मोल तोक्दा नारायणकाजी कहाँ थिए ?


 


गोरखा, १ फागुन 

नयाँ शक्ति पार्टी, नेपालका प्रवक्ता डम्बर खतिवडाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कुनै दिन बाबुराम भट्टराईको शरणमा आएर रुने बताएका छन् ।

२४ औं जनयुद्ध दिवसका दिन पालुङटारमा नयाँ शक्तिको पूर्वपश्चिम जनजागरण अभियानअन्तर्गत भएको कार्यक्रममा खतिवडाले केपी ओलीसँग पार्टी एकता गर्नुभन्दा भट्टराईसँगै मिलेको भए प्रचण्डको बुद्धिमानी ठहरिने दाबी गरे ।

‘माओवादी पार्टी ओलीको नेतृत्वमा लगेर मिसाउनु थियो भने त्योभन्दा बुद्धिमानी भट्टराईको नेतृत्वमा ल्याएर रुपान्तरण गर्नुभएको भए जाति हुन्थ्यो,’ खतिवडाले भने, ‘खानेबेला, सत्तामा हुनेबेला प्रचण्डको साथमा केही नयाँ साथी होलान् । ती साथीहरूले काखमा राख्लान् । तर कुनै दिन यस्तो आउँछ, जुन दिन बाबुरामको शरणमा आएर प्रचण्ड रुने दिन आउँछ ।’

बाबुरामले माओवादी छाडेपछि त्यो पार्टी प्रचण्डले एमालेमा लगेर मिसाइदिएको उनले आरोप लगाए ।

‘आज माओवादी भन्ने पार्टी प्रचण्डसँग छ ? प्रचण्डपथ भन्ने छ ?’, उनले भने, ‘कमरेड प्रचण्डसँग ओली, नारायणकाजी हुनुहुन्छ । उहाँलाई लाग्दो हो, बाबुराम छुटेर के भो ? प्रचण्डको टाउकोको मोल तोक्दा ओली, नारायणकाजी कहाँ थिए ?’

ओली र नारायणकाजी प्रचण्डका लागि डाइनिङ टेबलका पार्टनर हुन सक्ने भन्दै उनले थपे, ‘चियर्स गर्ने साथी हुन सक्छन्, खानेबेलाका साथी हुन सक्छन् । तर प्रचण्डको दुःखको बेला साथी को थियो ? बाबुराम होइन ?’

प्रकाशित मिति: १ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्