४० प्रतिशतले घट्यो वैदेशिक रोजगारीमा जाने युवाको संख्या


 


काठमाडौं फागुन ३
वैदेशिक रोजगारीमा जाने युवाको संख्या करीब ४० प्रतिशतले गिरावट आएको छ । नेपाल राष्ट्र बैकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ३९.१ प्रतिशतले घटेको बताएको छ ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको यही अवधिमा यस्तो संख्या केवल १.८ प्रतिशतले घटेको थियो । नेपाली कामदारको प्रमुख रोजगार गन्तव्य मलेसियाको श्रम स्वीकृति रोकिएको र युरोपका देशबाट आउने डिमाण्ड दुतावासबाट प्रमाणिकरण हुन झन्झट भएपछि वैदेशिक रोजगारीको डिमाण्ड घटेको वैदेशिक रोजगार व्यवसायीहरुले जानकारी दिएका छन् ।

बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ४ खर्ब ४३ अर्ब ३६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो रकम गत आर्थिक वर्षको यही अवधिको तुलनामा ३०.२ प्रतिशतले बढी हो । तर यसमा अमेरिकी डलरको विनिमय दरमा आएको बृद्धि मुख्य भुमिका रहेको बताइएको छ ।

त्यस्तै बैधानिक औपचारिक च्यानलबाट रेमिट्यान्स आउनुलाई पनि विप्रेषण अंकमा बढोत्तरीको कारण ठानिएको छ । अघिल्ला बर्षमा पनि नेपालमा रेमिट्यान्स आईरहेको भएपनि औपचारिक च्यानलबाट नआउने गरेको कारण त्यो रकम राष्ट्र बैंकको तथ्यांकमा गणनामा आउन सकेको थिएन ।

राष्ट्र बैंकले गत आर्थिक वर्षको पहिलो ६ महिनमा रेमिट्यान्स वृद्धिदर ०.५ प्रतिशतले ऋणात्मक भएको जनाएको थियो । अमेरिकी डलरमा हिसाब गर्दा रेमिट्यान्स १७.६ प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकले चालु वर्षको पहिलो ६ महिनामा आयात ३०.५ प्रतिशत र निर्यात १०.३ प्रतिशतले बढेको जनाएको छ ।

प्रकाशित मिति: ३ फाल्गुन २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्