‘कामदारलाई विमानस्थलमा दुःख नदेउ’
काठमाडौं फागुन ३
विदेशमा पसिना बगाई घर विदामा आउने कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा दुःख दिएको भन्दै नायिका रेखा थापाले श्रम मन्त्री गोकर्ण विष्टको ध्यानाकर्षण गराएकी छिन् । उनले ऐन कानून र सरकारी सूचनाको हवाला दिएर विमानस्थलमा रोजगारी गरी फर्किएका विपन्न अवस्थाका कामदारको सामान जफत नगर्न समेत मन्त्री विष्टसमक्ष आग्रह गरेकी छिन् ।
अभिनेत्री थापाले संसारभर रहेका नेपालीले नेपाल फर्किंदा विमानस्थलमा भोग्नुपरेको अपमान पीडादायी रहेको भन्दै त्यस्तो अपमानजनक व्यवहार सच्याउन समेत माग गरेकी छिन् ।
श्रमिकले ल्याउने घरेलु प्रयोजनका सामान जफत वा कर तिर्न बाध्य पार्ने नियम सच्याउन आग्रह रहेको अभिनेत्री थापाको ज्ञापनपत्र ग्रहण गरेपछि मन्त्री विष्टले त्यस विषयमा अर्थ मन्त्रालयसँग समन्वय गरेर समस्याको समाधान गर्ने आश्वासन दिएका छन् । बिहीबार विमानस्थल भित्रै भन्सार अधिकारीहरुको व्यवहार सच्चाउन माग गर्दै केही युवाहरुले नारावाजी समेत गरेका थिए ।
प्रकाशित मिति: ३ फाल्गुन २०७५, शुक्रबार












