ओली सरकारको बेरोजगार भत्ता कार्यकर्ता भत्तामा रुपान्तरण हुने पक्का – महत


 


काठमाडौं, ३ फागुन
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री एवम् पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको एक वर्ष पूरै असफल भएको आरोप लगाउनु भएको छ । उहाँले सरकारले व्यवस्था गरेको बेरोजगार भत्ताको कडा आलोचना गर्दै बेरोजगार भत्ता कार्यकर्ता भत्तामा रुपान्तरण हुने पक्का भएको पनि जिकिर गर्नुभयो ।

साक्षात्कारमा सहमहामन्त्री महतले मूल्यवृद्धि आकाशिएको, व्यापार घाटा बढेको र लगानी घटेको दृष्टान्त पेश गर्दै भन्नु भयो‘अहिले ५० प्रतिशत लगानी घट्यो । कर बढिरहेको छ । बैंकको व्याजदर बढिरहेको छ ।’ त्यस्तै उहाँले संस्थागत भ्रष्टाचार बढिरहेको पनि आरोप पनि लगाउनुभयो । महतले ‘ईज अफ डुईङ बिजनेश’ पनि राम्रो नभएको टिप्पणी गर्नुभयो । महतले भन्नुभयो,‘सुशासनको त कुरै नगरौं । सुनकाण्ड त्यो अब पृष्ठभूमिमा गैसक्यो । चिनी काण्ड त्यस्तै । वाईडबडी काण्ड अब अख्तियारले हेर्ने भनिएको छ, हामी सुक्ष्म रुपमा हेरिरहेका छौं ।’

मेलम्ची खानेपानी आयोजना अनिश्चित् बनाइएको आरोप पनि महतको छ । उहाँले थपे,‘उता बुढीगण्डकीको कथापनि त्यस्तै छ । एनसेलको कर छलीमा अदालतले कर उठाउन भनेको छ, हामी हेरिरहेका छौं ।’

महतले सरकारले सुशासन कायम गर्न नसकेको गम्भीर आरोप लगाउनुभयो । उहाँले भन्नुभयो,‘समृद्धि त अहिले सत्तामा बस्नेहरुको लागि मात्रै आएको होला । तर, जनताले समृद्धिको कुनै अनभूुति गर्न पाएका छैनन् ।’

संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई कार्यान्वयन र संस्थागत गर्नतर्फ लाग्नुपर्ने उहाँको सुझाव छ । सरकारले संसदीय मर्यादालाई नै कुल्चिएको उहाँको आरोप छ । ‘सभामुख र उपसभामुख एउटै पार्टीको मान्छे हुनुहुन्छ । पार्टी एकता भएपछि पनि अहिलेसम्म त्यतातर्फ सोच्नुभएको छैन्’–महतले भने ।

सरकारले कर्मचारीतन्त्रलाई पूरै पार्टीकरण गरेको पनि महतको आरोप छ । उहाँले भन्नुभयो,‘संवैधानिक निकायलाई सरकारले छायाँमा राखेको छ । दुई तिहाईको तरबार झुण्डाईएको छ ।’ महतले सरकारले लोकतान्त्रिक संस्थाको स्वतन्त्र रुपमा काम गर्ने ‘स्पेश’ लाई नै समाप्त पारेको जिकिर पनि गर्नुभयो ।

परराष्ट्र नीतिमा पनि वर्तमान सरकार पूरै असफल भएको महतको दावी छ । उहाँले भन्नुभयो,‘काठमाडौंमा विम्स्टेक शिखर सम्मेलन हुँदा भारतसँग संयुक्त सैन्य अभ्यास गर्ने र हामी भाग लिन्छौं भनेर सरकारले भन्यो, तर पछि भाग लिनबाट पछाडि हट्यो । हाम्रो परराष्ट्र नीतिको त्यस्तो हालत छ ।’

एशिया प्यासिफिक समिटमा पनि सरकार नै संरक्षक बनेको र प्रधानमन्त्री केपी शर्मा ओली तीन दिनसम्म होटेलमै बसेको भन्दै महतले आलोचना गर्नुभयो । भेनेजुएला प्रकरणमा सरकारले जारी गरेको विज्ञप्तीबारे टिप्पणी गर्दै उहाँले भन्नुभयो,‘भेनेजुएलालाई यो सरकारले रोलमोडल बनाउन खोजेको हो ?, भेनेजुएलामा लाखौं गुणा मूल्यवृद्धि छ । लाखौं मान्छेहरु देश छोडेर भागेका छन् । अब त्यो देशलाई हाम्रो रोलमोडल बनाउन खोजेको हो ?’

उहाँले नेपाललाई लगातार सहयोग गर्ने अमेरिकाजस्तो देशलाई अनेकौं विशेषण हालेर गाली गर्ने काम भएको भन्दै आपत्ति पनि जनाउनुभयो । उनले भने,‘देश चलाउने भनेको पार्टी चलाएकोजस्तो होईन् । देशको फाईदा हेर्ने हो । राष्ट्रिय स्वार्थलाई ध्यानमा राखेर अघि बढ्ने हो । अहिले हाम्रो परराष्ट्र नीति राष्ट्रिय हित अनुकुल छैन् ।’

हरेक दृष्टिकोणमा यो सरकार उल्टो दिशामा हिँडेकोले आफूहरुले खबरदारी गर्नुपरेको पनि महतले जनाउनुभयो । प्रेस स्वतन्त्रलाई कुण्ठित गर्ने, सामाजिक सञ्जाललाई नियन्त्रण तथा निषेध गर्न खोजिएको भन्दै उहाँले सरकारको आलोचना गर्नुभयो ।

नेता महतले हालै सरकारले सार्वजनिक गरेको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अन्तर्गत रोजगार नभएमा बेरोजगार भत्ता दिने भनेर गरिएको व्यवस्थाको भने कडा आलोचना गर्नुभयो ।
उहाँले भन्नुभयो,‘यो बेरोजगार भत्तालाई सरकारले कार्यकर्ता भत्ताको रुपमा रुपान्तरण गर्दैछ ।’ महतले सरकारले पैसा दिनुको साटो काम दिने व्यवस्था गर्नुपर्ने सुझाव पनि दिनुभयो ।

प्रकाशित मिति: ३ फाल्गुन २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्