‘रासस शोधवृत्ति’ स्थानीय समाचारदाता संयोजक सिलवाललाई


 


काठमाडौँ, फागुन ३

रासस कर्मचारी युनियनले यस वर्षदेखि स्थापना गरेको ‘रासस शोधवृत्ति’ राससका समाचारदाता एवं स्थानीय समाचारदाता संयोजक प्रकाश सिलवालको ‘नेपाली सङ्घीयतामा समाचार समिति’ शीर्षकको अध्ययनका लागि दिइने भएको छ ।

सो युनियनका अध्यक्ष कालिका खड्काको अध्यक्षतामा बसेको बैठकले सिलवालले करीब चार वर्षको समय लगाएर गरेको उक्त अध्ययनका लागि रु दश हजार राशि सहितको शोधवृत्ति दिने निर्णय भएको हो । सो शोधवृत्ति रकम यही फागुन ७ गते आयोजना हुने राससको ५८ औँ वार्षिकोत्सव समारोहमा हस्तान्तरण हुनेछ ।

सङ्घीय नेपालका लागि मुलुकको एक मात्र आधिकारिक र विश्वसनीय समाचार समिति राससको सान्दर्भिकता थप भएको र यसले आफूलाई प्रतिस्पर्धी, आधुनिक, स्वायत्त तुल्याई खोजमूलक समाचारमा केन्द्रित हुुनुपर्ने सुझाव दिइएको उक्त अध्ययनको पुस्तक ‘बिएन पुस्तक संसार’ बाट प्रकाशनका क्रममा छ । अध्ययनले प्रदेश तहमा समाचार समितिका संरचना, सेवा र पहुँचका सम्बन्धमा विवेचनासमेत गरेको छ ।

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर उनन्चालीस वर्षीय सिलवाल विभिन्न सञ्चारमाध्यमको अनुभवसहित नौ वर्षअघि राससमा प्रवेश गर्नुभएको थियो ।  उहाँका यसअघि ‘क्षितिजको आशय’ (कविता) र ‘पूर्णिमाको रात’ (निबन्धसङ्ग्रह) प्रकाशित छन् । सो युनियनका सल्लाहकार तथा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा रासस शाखाका संस्थापक अध्यक्ष सिलवाल शिक्षा पत्रकार समूहका पूर्वअध्यक्ष पनि हुनुहुन्छ । रासस

प्रकाशित मिति: ३ फाल्गुन २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्