नेपाली कांग्रेसले आफ्नो अनुहार ऐनामा हेरोस्


 


काठमाडौं फागुन ३ केही दिन अगाडिसम्म नेपाली कांग्रेसलाई सजिलो प्रतिपक्षको संज्ञा दिने गरिन्थ्यो । नेपाली कांग्रेसले प्रतिपक्षको भूमिकामा सन्तोषजनक ढंगले निर्वाह नगरेको भन्दै यो संज्ञा दिएको हो । तर, अहिले भने विभिन्न मुद्दा र एजेण्डा अगाडि सारेर नेपाली कांग्रेस सरकारविरुद्ध सडक र सदनमा उत्रिन थालेको छ । यस क्रममा नेपाली कांग्रेसले वर्तमान सरकार अधिनायकवादी बाटोतिर लाग्न थाल्योलगायतका विभिन्न एजेण्डाहरू अगाडि सार्दै २०७५ माघ २१ गते सतहत्तरै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गरेको थियो ।

जनअपेक्षा अनुसार सरकारले काम गर्न सकेन र बुढी गण्डकी निर्माणको ठेक्का चिनियँँ गेजुवा कम्पनीलाई ठेक्का दिंदा र पाँच नम्बर प्रदेश सरकारले मोटर खरिद गर्दा ठूलो भ्रष्टाचार गरेको भन्दै र संवैधानिक परिषदको बैठकमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेतालाई समावेश नगरेको भन्दै नेपाली कांग्रेस वर्तमान सरकारकाविरुद्धमा आक्रोशित हुँदै सदन र सडक विरोधमा उत्रिन थालेको छ ।

नेपाली कांग्रेसले प्रतिपक्षको भूमिका र धर्म निर्वाह गर्दै वर्तमान सरकारकाविरुद्धमा सडक र सदनमा उत्रिन थालेको हो कि वर्तमान सरकारको कार्यशैली नै सडकमा उत्रिएर विरोध गर्नु पर्ने तहको छ ? भन्ने प्रश्न अहिले बौद्धिक क्षेत्रमा उठ्न थालेको छ । २०४६ सालको राजनीतिक परिवर्तन यता सबभन्दा बढी समय सरकारको नेतृत्व र सरकार संचालन नेपाली कांग्रेसले नै गरेको छ । नेपाली कांग्रेसको नेतृत्वमा २०४७ साल र २०७२ सालमा संविधान जारी भएको मात्र छैन कि नेपाली कांग्रेसकै खासगरी शेरवहादुर देउवा नेतृत्वको सरकारले विभिन्न विकृति, भ्रष्टजन्य प्रवृत्ति बढाउने काम पनि यो मुलुकमा गरेको इतिहास साक्षी छ ।

नेपाली कांग्रेसकै सरकारले भ्रष्टाचारलाई संस्थागत र व्यापक बनाउने काम गरेको थियो । यसैगरी नेपाली कांग्रेसका नेता शेरवहादुर देउवाकै सरकारको कार्यशैलीको कारण माओवादीको विद्रोह जन्मिएको र त्यसरी फैलिएको भन्दा अन्यथा हुने अवस्था छैन । यो मुलुकमा सबभन्दा लामो समयसम्म शासन गरेको भएपनि नेपाली कांग्रेसले त्यसैगरी विकृतिको थुप्रो जन्माउने काम पनि नेपालको राजनीतिमा गरेको छ ।

अहिले सत्ताबाट प्रतिपक्षमा गएपछि त्यही नेपाली कांग्रेस खड्ग ओली नेतृत्वको सरकारको कार्यशैलीप्रति असन्तुष्ट हुँदै सडक आन्दोलनमा समेत उत्रिन थालेको छ । नेकपा अध्यक्ष केपी ओलीको नेतृत्वमा गठन भएको वर्तमान सरकारको एक वर्ष यही २०७५ फागुण २ गते पुग्दैछ । दोस्रो वर्षमा टेक्न थालेको वर्तमान सरकारले नेपाली जनताको अपेक्षा र सपना अनुसार काम गर्न सकिराखेको छैन ।

यही कारणले गर्दा वर्तमान सरकारको कामसंग नेपाली जनता पनि सन्तुष्ट छैनन् भन्दा हुन्छ । तर, पाँच वर्षका लागि गठन भएको सरकारले एक वर्षमा नै जनताका सबै सपना र आवश्यकता पूरा गर्नेगरी काम गर्न सक्दैन भन्ने सत्य आफ्नो ठाउँमा छ भने नेपाली जनतालाई सुन्दर सपना देखाउने काम पनि प्रधानमन्त्री ओलीले गरेका थिए भन्ने सत्यलाई पनि स्वीकार गर्नु पर्दछ ।

भारतले नाकाबन्दी लगाई दिएको कारण घोर संकट र अभावमा गुज्रिराखेका नेपाली जनताको मनोबललाई गिर्न नदिन पहिलो कार्यकालमा प्रधानमन्त्री ओलीले नेपाली जनतालाई रेलदेखि पानी जहाजसम्म र घरको भान्छामा नै ग्यासको पाइप पुग्नेसम्मको सपना देखाएका थिए ।

भारतीय नाकाबन्दीको कारण विभिन्न अभाव र अप्ठ्यारो भोगिराखेका नेपाली जनताको मनोबल गिर्न नदिन त्यतिखेर प्रधानमन्त्री ओलीले यी सुन्दर सपनाहरू नेपाली जनतालाई बाँडेका थिए । अहिले एक वर्ष कार्यकाल पनि पूरा नहुँदै यी सपनाहरू पूरा भएनन् भन्ने गुनासो आउनुलाई जायज मान्न सकिँदैन । तर यसैलाई समातेर प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस सडक संघर्षमा उत्रिन थालेको छ ।

वर्तमान सरकारको यो एक वर्षको कार्यकाललाई खराब भन्नु पर्ने अवस्था छैन । प्रधानमन्त्री ओलीले देखाएको सपना यो छोटो समयमा नै पूरा भएन भन्दैमा यो सरकारले जनताको पक्षमा काम गरेन भन्ने स्थिति पनि छैन । वर्तमान सरकारले जनताको पक्षमा यो एक वर्षको समयकालमा ठोस काम गरेको छ र त्यसको अनुभव नेपाली जनताले गरी पनि राखेका छन् ।

यातायात व्यवसायीको एकलौटी र मनलाग्दीलाई यही सरकारले ध्वस्त पारी दिएको छ । यसैगरी पेश्की रकम बुझेर स्यालको सिङ जस्तै वेपत्ता हुने ठेकेदार कम्पनीहरूलाई अब काम नगरे खैरियत छैन भन्ने सन्देश पनि यो सरकारले नै दिएको छ । यसैगरी चिकित्सा क्षेत्रमा व्यापक रहेको विकृति हटाउनेतिर पनि यो सरकारले नै ठोस पहल गरेको छ ।

डा. गोविन्द केसीले पटक पटक अनशन गरेको कारणले गर्दा चिकित्सा क्षेत्रको विकृति हटाउने गरी ऐन ल्याउन सरकार बाध्य भयो भन्नेहरूलाई सात पटकको आमरण अनशन नेपाली कांग्रेसको नेतृत्वको सरकारकै पालामा डा. केसीले गरेका थिए भन्ने वास्तविकता स्मरण गर्नु पर्दछ । डा. केसीले आमरण अनशन बसेको कारणले होइन, चिकित्सा शिक्षामा भएको विकृति हटाउन तथा चिकित्सा शिक्षा क्षेत्रमा सबै नेपाली जनताको पहुँच पुगोस् भनेर सरकारले चिकित्सा शिक्षा ऐन ल्याएको हो । यो वास्तविकतालाई १६ औं पटकको डा. केसीको आमरण अनशनको घोर समर्थन गर्ने नेपाली कांग्रेसले पनि मनन गर्नु पर्दछ ।

नेपाली कांग्रेस लामो समयसम्म सरकार संचालन गरेको पार्टी हो । अहिले नेपाली कांग्रेसको हैसियत सत्ता पक्षबाट प्रतिपक्षमा पुगेको छ । तर भोलिका दिनमा सत्ता पक्षमा फर्किने धोका नेपाली कांग्रेसका निम्ति बन्द भइसकेको छ भन्न कसैले पनि सक्दैन र नेपाली कांग्रेस भोलिका दिनमा सरकारमा फर्किन सक्दछ । त्यस कारण नेपाली कांग्रेसले अहिले सरकारको विरोध गर्नुभन्दा यो सरकारले गरेका राम्रा कामहरूको गाठो बाँध्न जरुरी छ । ताकि भोलिका दिनमा नेपाली कांग्रेस सरकारमा पुग्यो भने अहिलेको सरकारले जनताको पक्षमा गरेका कामलाई निरन्तरता दिन सकोस् ।

केपी ओली नेतृत्वको सरकार एक वर्ष हुन लागेसंगै नेपाली कांग्रेस प्रतिपक्षमा पुगेको पनि एक वर्ष हुन थालेको छ । ओली नेतृत्वको सरकारले यो एक वर्षको कार्यकालमा राष्टको दीर्घकालीन हितमा चाहिं सन्तुष्ट हुने गरी काम गरेको छ । तर संसदीय पद्धतिमा प्रमुख प्रतिपक्षले निर्वाह गर्नु पर्ने भूमिका नेपाली कांग्रेसले यो एक वर्षमा गरेको छैन । सरकारकाविरुद्धमा सदनमा चर्को भाषण गर्दैमा र सडक तताउँदैमा संसदीय पद्धतिमा प्रमुख प्रतिपक्षले आफ्नो भूमिका जिम्मेवारीपूर्वक निर्वाह गरेको मान्न सकिंदैन ।

वास्तवमा संसदीय पद्धतिमा प्रतिपक्षको भूमिका र खबरदारीले सरकारलाई जनताको पक्षमा काम गर्न दवाव दिई रहने तहको हुनु पर्दछ । तर नेपाली कांग्रेसले त्यो तहको दवाव दिएर प्रतिपक्षको भूमिका निर्वाह गर्न सकेको छैन । कमजोर प्रतिपक्ष भएपनि सरकारले भने आफ्नो जिम्मेवारीलाई निर्वाह गरिराखेकै छ भन्न सकिन्छ ।

र, आगामी दिनमा प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले जनताको पक्षमा काम गर्न सरकारलाई दवाव दिनु पर्दछ र कांग्रेसको अहिलेको सन्दर्भमा जिम्मेवारी र भूमिका भनेको पनि यही हो । र, वर्तमान सरकारको कार्यशैलीप्रति औंला ठड्याएर विरोध गर्न सडकमा उत्रिन नेपाली कांग्रेसले आफ्नो आजको र हिजोको कार्यशैलीको पनि समीक्षा गर्न पर्दछ ।

प्रकाशित मिति: ३ फाल्गुन २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्