सुनसरीमा ईटाभट्टा विस्फोटमा मृत्यु हुनेको संख्या ८ पुग्यो, मृतक सबैको सनाखत


 


jay nepal brick factory

सुनसरी, मंसिर २९

सुनसरीको इटहरी उपमहानगरपालिका–१६, एकम्बाको लोहनी टोलस्थितस्थित न्यू जयनेपाल ईटाभट्टा विष्फोट हुँदा मृत्यु हुने मजदूरको संख्या आठ पुगेको छ । सो दुर्घटनामा २५ जना घाईते भएका छन् ।

प्रहरीका अनुसार मृत्यु हुनेमा भारत बिहारका तीन, बंगालका तीन तथा दुई जना स्थानीय मजदूर हुन् । विष्फोटमाभट्टाले थिचिएर मृत्यु हुनेमा भारत बंगालका १५ वर्षीय सग्दाम हुसेन, १६ वर्षीय सलुन मियाँ, १२ वर्षीय राहुल मियाँ छन् ।

त्यस्तै बिहारका ३५ वर्षीय मिथलेस पासवान, २५ वर्षीय गरीबलाला पासवान र मुस्तफा मियाँको पनि मृत्यु भएको छ । इटहरी एकम्बाकी ६० वर्षीया भगलीदेवी चौधरी र शिव नारायण चौधरीको पनि भट्टाले थिचिएरै मृत्यु भएको हो । तीन जनाको घटनास्थलमै र ५ जनाको बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा मृत्यु भएको हो ।

दश लाख काँचो ईट्टा भरेर आगो लगाएपछि भट्टाको चिम्नीबाट आगोको धुँवा बाहिर ननिस्कँदा विष्फोट भएको प्रहरीको भनाइ छ । गम्भीर अवस्थाका घाइतेलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको र अरु घाइतेको स्थानीय अस्पतालमै उपचार भईरहेको इलाका प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक चिरञ्जिवी कोइरालाले जानकारी दिए ।

गत वैशाख १२ गतेको भूकम्पका क्रममा चर्किएको चिम्नीको मर्मत गरेर संचालन गरिएको थियो । अहिले सोही चिम्नी भत्किएको सर्वसाधारणले बताएका छन् ।

प्रकाशित मिति: २९ मंसिर २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्