बिहान चाँडै उठ्न सके कस्ता छन् फाइदा ?


 


फागुन ५ एजेन्सी
बिहान छिटो उठ्ने मानिस तुलनात्मक रुपमा खुसी र अधिक उत्पादक जीवन जिउन सक्ने गरेको पाइएको छ । हालै गरिएको एक अनुसन्धानले यस्तो देखाएको हो ।

एक्सटर युनिभर्सिटीले ठूलो स्केलमा गरेको एक अनुसन्धमानमा राति अबेरसम्म बस्नेहरुमा भन्दा बिहान चाँडो उठ्नेहरुमा तनावलगायतका मानसिक समस्या देखापर्ने सम्भावना कम रहेको पाइएको हो । अध्ययनकर्ताहरुका अनुसार राति सक्रिय रहनेहरुको शारीरिक घडी दैनिक तालिकासँग जुध्न पुग्ने हुनाले नै यसले स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने गर्दछ ।

त्यसैगरी विद्यार्थीहरुमा पनि बिहान चाँडो उठ्नुले धेरै फाइदा पुर्याउन सक्ने देखिएको छ । यसमा राति ढिलासम्म पढ्ने विद्यार्थी भन्दा बिहान सबेरै उठेर पढ्ने विद्यार्थीहरुको परीक्षा नतिजा औसतमा राम्रो हुने गरेको टेक्सस युनिभर्सिटीको एक अध्ययनले देखाएको हो ।

वास्तवमा बिहान चाँडै उठ्ने व्यक्तिहरुले कम मदिरा सेवन गर्ने गरेको पाइन्छ । त्यस्तै राति पर्याप्त निद्रा पुर्याइसकेको हुँदा बिहान हाम्रो शरीर प्राकृतिक रुपमा जागेको हुन्छ । यसैले पनि राति भन्दा बिहान पढ्नु बढी प्रभावकारी साबित हुने विज्ञहरुको भनाइ छ । यसका साथै चाँडो उठ्नेहरु ठीक समयमा काममा जाने हुँदा यसले तिनको उत्पादकत्व पनि वृद्धि गराउने गर्दछ ।

युनिभर्सिटी अफ ब्रिस्टोलका अनुसनधानकर्ताहरुले एक अध्ययन अन्र्तगत ३४१ जना महिलाको डिएनएका स्याम्पल परीक्षण गरेका थिए । यसमा दुई किसिमको डिएनएबारे सर्वेक्षण गरिएको थियो – राति सक्रिय रहने र बिहान चाँडो उठ्ने । जसमा सबेरै उठ्ने महिलाहरुमा स्तन क्यान्सर विकास हुने सम्भावना कम रहेको पत्ता लगाइएको हो ।

त्यसैगरी ‘मेनोपज’, महिनावारी रोकिएपछिका महिलाहरुको स्वास्थ्यमा पनि सबेरै उठ्नुले धेरै फाइदा गराउन सक्ने बताइएको छ । विशेषगरी उनीहरुमा निद्रा नलाग्ने, राम्रोसँग सुत्न नसक्ने समस्या हुन्छ । यस्तोमा हप्तामा ५ दिन बिहान सबेरै उठेर ४५ मिनेट शारीरिक व्यायाम गर्ने गरेमा राति राम्रो निद्रा लाग्ने सिएटलस्थित क्यान्सर रिसर्च सेन्टरका वैज्ञानिक फ्रेड हट्चिन्सनले बताएका हुन् । उनका अनुसार यस अध्ययनमा सहभागी ७० प्रतिशतमा यस्तो नतिजा देखिएको हो ।

त्यसैगरी किशोर किशोरीहरुको व्यक्तित्वमा पनि सबेरै उठ्नुले ठूलो सकारात्मक बदलाव ल्याउन सक्ने बताइएको छ । यसबारे जर्मनका ३४६ किशोरहरुमा गरिएको अध्ययनमा बिहान सबेरै उठ्नेहरुको नियमितता र सहकारितामा सुधार आएको पाइएको हो । यता युनिभर्सिटी अफ एजुकेसन हेइडनबर्गले १,२३१ सहभागीहरुको अध्ययन गर्दा पनि बिहानका व्यक्ति तुलनात्मक रुपमा अधिक इमान्दर हुने गरेको र धेरैलाई अल्छिमुक्त बनाउने गरेको देखिएको छ । – द गार्जियनबाट

प्रकाशित मिति: ५ फाल्गुन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्