पूर्वी मोरङकै अग्रणी शैक्षिक संस्था सप्तकोशीले रजत जयन्ती तीन दिनसम्म मनाउने


 


उर्लाबारी। गुणस्तरिय शिक्षामा जोड दिँदै २०५० सालमा मोरङको उर्लाबारीमा स्थापित सप्तकोशी आवासीय माध्यमिक विद्यालयले रजत जयन्ती तीन दिनसम्म मनाउने भएको छ ।

विद्यालयले फागुन १७, १८ र १९ गते तीन दिन विभिन्न कार्यक्रमको आयोजना गरी रजत जयन्ती मनाउने भएको हो । उक्त विद्यालयले रजत जयन्तीकै अवसरमा १ बर्षसम्म विविध कार्यक्रमहरु सञ्चालन गरेको थियो । यस्तै विद्यालयको वार्षिक परीक्षामा कक्षा उत्तीर्ण गर्ने तथा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमका विजेता र उपविजेतालाई फागुन १७ गते पुरस्कार प्रदान गर्ने कार्यक्रमतय भएको छ । विद्यालयमा लामो समय सेवा गर्ने शिक्षक, कर्मचारी र संस्थापक अभिभावकलाई सम्मान गरिने जनाइएको छ ।

विद्यालयले प्रकाशन गरेको स्मारिका बिमोचन पनि सोही कार्यक्रमको अवसरमा गरिने छ । यस्तै सामाजिक क्षेत्रमा उर्लाबारीको गरिमालाई उच्च बनाउन महत्वपूर्ण योगदान पु¥याउने तीन वटा संस्थालाई सम्मान गरिने छ । सम्मानित हुने संस्थाहरूमा सञ्चार क्लव नेपाल उर्लाबारी, ज्येष्ठ नागरिक समन्वय समिति उर्लाबारी र नमुना बाल गृह उर्लाबारी रहेका छन् ।

उर्लाबारी क्षेत्रमा नयाँ शैक्षिक उचाई कायम गर्न सफल सप्तकोशी आवासीय माविले आगामी वर्ष देखि पदम कला सप्तकोशी साहित्य पुरस्कार समेत स्थापनाको घोषणा गरेको छ । पुरस्कार सम्बन्धि कार्यविधि बनाएर २०७६ साल देखि हरेक वर्ष एक जना साहित्यकारलाई पुरस्कार प्रदान गरिने संस्थापक प्रिन्सिपल लेखनाथ भट्टराईले जानकारी दिए । विद्यालयकी संस्थापक अध्यक्ष मिश्र वैजयन्तीको पहलमा पुरस्कार कोष स्थापना गर्ने निर्णय भएको प्रिन्सीपल भट्टराईले बताए ।

रजत जयन्ती समारोहका अवसरमै विद्यालयले प्रत्येक कक्षामा २ जनालाई निःशुल्क अध्ययनका लागि छात्रवृति दिने घोषणा गरेको छ । यो छात्रवृति प्राप्त गर्ने विद्यार्थीले मासिक शुल्क र भर्ना तिर्नु पर्ने छैन् । उर्लाबारी–४ को आइतबारेमा २ विगाहा जग्गामा फैलिएको विद्यालयमा हाल कक्षा नर्सरी देखि १२ सम्ममा १ हजार १९ जना विद्यार्थी अध्ययनरत छन् ।

विद्यालयले दुई वटा ब्लकमा दुई सिफ्ट गरेर विद्यार्थीलाई पढाउँदै आएको छ । २०५८ देखि प्रवेशिका परीक्षामा सामेल भएको सप्तकोशी आवासीय माविले हाल सम्म ६ सय ७३ जना विद्यार्थीलाई एसएलसी र एसईई परीक्षा उत्तीर्ण गराइसकेको छ । विद्यालयमा शैक्षिक, प्रशासनिक,ल्याव,कम्प्युटर गरी ५० कोठा रहेका छन् । विद्यालयले २०६६ साल देखि कक्षा ११ का अध्ययन अध्यापन समेत सुरु गरेको हो ।

प्रकाशित मिति: १६ फाल्गुन २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्