पहिलोपटक प्रतिस्पर्धाबाट सेना प्रमुख सुवेदार छानिए


 


२१ फागुन – नेपाली सेनामा पहिलो पटक प्रतिस्पर्धाबाट सेना प्रमुख सुवेदार पदको छनौट गरिएको छ ।

मुलुकभरका गण र गुल्मका सुवेदारमध्येबाट प्रतिस्पर्धाका आधारमा जुम्लामा रहेको २४ नम्बर बाहिनी अड्डाका सुवेदार मनोजकुमार चौधरी उक्त पदमा छनोट भएको सैनिक प्रवक्ता यामप्रसाद ढकालले बताए ।

देशभरबाट छानिएर केन्द्रमा आइपुगेका ८ जना प्रतिस्पर्धीमध्ये उनी छनोट भएका हुन् । उनको कार्यकाल पाँच वर्षको हुनेछ ।

अहिलेसम्म प्रधानसेनापतिले चाहेको सुवेदार मेजरलाई यस्तो जिम्मेवारी दिइने गरिएको थियो । सेना प्रमुख सुवेदारले देशभरका अधिकृतभन्दा तलका सैनिकहरूको धारणा बुझ्ने काम गर्छन् ।

अधिकृतहरूभन्दा तलका सैनिकको सबैभन्दा माथिल्लो पद भएको र सिधै प्रधानसेनापतीसँग निकट भएर काम गर्ने भएकाले यो सम्मानार्थ दिइने पद पनि हो ।

प्रकाशित मिति: २१ फाल्गुन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्