फत्तेबाल आँखा अस्पतालबाट ११ महिनामा करिब एक लाख बिरामीले सेवा लिए
नेपालगन्ज, २२ असार। नेपालगन्जस्थित फत्तेबाल आँखा अस्पतालबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा करिब एक लाख बिरामीले आँखाको उपचार सेवा लिएका छन्।
अस्पतालका प्रबन्ध निर्देशक डा. कौशल वर्माले ११ महिनाको अवधिमा ९८ हजार ३९६ जना बिरामीले उपचार सेवा लिएको जानकारी दिए। तीमध्ये ९ हजार ७८ जनाले विभिन्न प्रकारका आँखासम्बन्धी शल्यक्रिया गराएका छन्।
शल्यक्रिया गराएका बिरामीमध्ये ६ हजार ८९० जनाले मोतिबिन्दु, १ हजार ९ जनाले कर्निया, ४८२ जनाले रेटिना तथा ६ सयभन्दा बढी जनाले जलविन्दुसहित अन्य सामान्य शल्यक्रिया गराएको अस्पतालले जनाएको छ।
डा. वर्माका अनुसार शल्यक्रिया सेवालाई थप गुणस्तरीय बनाउन पाँचवटा मोडुलर अपरेशन थिएटर निर्माण गरिएको छ। आवश्यक उपकरण र फर्निचर व्यवस्थापनपछि ती सञ्चालनमा ल्याइने तयारी भइरहेको छ। हाल अस्पतालमा दुईवटा मात्रै शल्यक्रिया कक्ष सञ्चालनमा छन्।
नयाँ मोडुलर अपरेशन थिएटर सञ्चालनमा आएपछि रेटिना, कर्निया, मोतिबिन्दु र अकुलोप्लास्टीसम्बन्धी शल्यक्रिया छुट्टाछुट्टै कक्षमा गर्न सकिने भएकाले सेवा अझ प्रभावकारी र व्यवस्थित हुने डा. वर्माले बताए।
गत आर्थिक वर्ष २०८१/८२ मा अस्पतालबाट १ लाख ३७ हजार बिरामीले सेवा लिएका थिए। त्यसमध्ये १ लाख ५ हजार ७९३ जनाले अस्पतालबाट, १० हजार ४९२ जनाले सामुदायिक आँखा उपचार केन्द्रबाट र २१ हजार ४४६ जनाले बाह्य कार्यक्रममार्फत उपचार सेवा प्राप्त गरेका थिए। सो अवधिमा ९ हजार ७८८ जनाको शल्यक्रिया गरिएको थियो।
फत्तेबाल आँखा अस्पतालले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै भारतका सीमावर्ती क्षेत्रका नागरिकलाई पनि सेवा दिँदै आएको छ। अस्पतालमा रेटिना र अकुलोप्लास्टिकसहितका विशिष्टीकृत सेवा उपलब्ध भएकाले बिरामीको चाप बढ्दै गएको अस्पतालले जनाएको छ।
हाल अस्पतालमा आँखासम्बन्धी सबै प्रकारका रोगको परीक्षण तथा उपचार, टाँकाविहीन र फेको प्रविधिबाट मोतिबिन्दुको शल्यक्रिया, जलविन्दुको उपचार, रेटिना शल्यक्रिया, अकुलोप्लास्टिक सेवा, डेढो आँखाको शल्यक्रिया, आँसु नलीको उपचार, याग लेजर सेवा, एभास्टिन इन्जेक्सनलगायतका आधुनिक उपचार सेवा उपलब्ध छन्।
प्रकाशित मिति: २२ असार २०८३, सोमबार












