विद्यार्थी संगठनले भन्योः राहत शिक्षकहरु खुल्ला प्रतिस्पर्धामा जान डराउनु लाजमर्दो !


 


२१ फागुन – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको विद्यार्थी संगठन अनेरास्ववियू र अखिल (क्रान्तिकारी)ले शिक्षाजस्तो संवेदनशील क्षेत्रमा पटकपटक स्वतः स्थायीको माग राखेर आन्दोलन गरिनु दुःखद् भएको बताएका छन् ।

मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै दुवै विद्यार्थी संगठनले शैक्षिक सत्रको उत्तरार्धमा शिक्षकहरुले कक्षाकोठा छोडेर सुरु गरेका आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

‘राहत शिक्षकहरुको स्वतः स्थायीको माग शिक्षा क्षेत्रको लागि घातक रहेको हाम्रो निश्कर्ष छ । शिक्षा जस्तो संवेदनशील क्षेत्रमा पटकपटक स्वतस् स्थायीको माग गरेर आन्दोलन गरिनु जति दुखद अरु हुन सक्दैन’, अध्यक्षद्वय नविना लामा र रञ्जित तामाङद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘आज सार्वजनिक शिक्षाको शिर उठाउने दायित्व पाउनुभएका शिक्षकहरुले खुल्ला प्रतिस्पर्धामा जान डराउनु जस्तो लाजमर्दो अरु के हुन सक्छ र ?’

अखिल र क्रान्तिकारीले अस्थायी शिक्षकहरुको सन्दर्भमा शिक्षा ऐनको नवौं संशोधनमा गलत प्रावधान राखिएको र आआफूहरु सुरुदेखि नै यसको विरोध रहेको बताएका छन् ।

आन्तरिक दरबन्दीमा माग भएको कोटा बमोजिमका शिक्षक समेत उत्तीर्ण नहुनुले शिक्षा ऐनको नवौं संशोधनको प्रावधान गलत रहेको सिद्ध गरिसकेको उनीहरुको दावी छ । विज्ञप्तिमा गलत निर्णयलाई नजिरको रुपमा स्थापित गर्ने अर्को गल्ती नगर्न नेपाल सरकार, शिक्षा मन्त्रालयलाई ध्यानाकर्षणसमेत गराइएको छ ।

विज्ञप्तिमा शिक्षकले शिक्षालाई जागिर खाने थलोको रुपमा मात्रै नबुझी शिक्षकको पेशागत मर्यादा, महत्वलाई आत्मसाथ गर्दै स्वतस् स्थायीको मागबाट पछि हट्न र खुल्ला प्रतिस्पर्धालाई सहर्ष स्विकारेर अगाडि बढ्न अनुरोध गरिएको छ । ‘आफ्नो व्यक्तिगत स्वार्थपुर्तिको लागि लाखौं विद्यार्थीको भविष्यमाथि खेलवाड गर्नेगरी विद्यालय बन्द गर्ने, पठनपाठनमा असर पर्ने प्रकारको आन्दोलन नगर्न अनुरोध समेत गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति: २१ फाल्गुन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्