पर्याप्त ग्यास हुँदाहुँदै अभाव गराइएको खुलासा


 


नेपाल ग्यास बिक्रेता सङ्घसँगको अनौपचारिक सरकारी वार्ता सहमतिउन्मुख देखिएको दाबी गरिएको छ । ग्यासको कमिसन बढाउनुपर्ने तथा नेपाली ग्यास उद्योगको नेपाली नम्बरका निजी बुलेट सञ्चालन गर्न पाउनुपर्ने माग राख्दै आएका व्यवसायीसँग सम्बन्धित सरकारी निकायले अनौपचारिक वार्ता गरी निकास निकाल्ने तयारी भएको हो ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले सो विषयमा चाँडै सहमति हुने अपेक्षा लिइएको जानकारी दिएका छन् । निगमले भारतबाट खाना पकाउने ग्यास आयात निरन्तर रूपमा भइरहेकाले बजारमा अभाव नरहने पनि जनाएको छ । निगमले स्वचालित मूल्य प्रणालीमा पेट्रोलियम पदार्थको मूल्य निर्धारण गर्दै आएको छ ।

उद्योगीले ग्यासको पिडिओ खरीद गर्न बन्द गरेसँगै व्यापारीले बजारमा कृत्रिम अभाव सिर्जना गरेको अनुगमनमा पाइएको छ । बजारमा पर्याप्त ग्यास हुँदाहुँदै बिक्रेताले उद्योगबाट नआएको भन्दै बिक्री बन्द गरेका छन् ।

वाणिज्य, आपूर्ति तथा उभोक्ता संरक्षण विभागको अनुगमनले पर्याप्त मात्रामा ग्यासको आपूर्ति हुँदाहुँदै पनि कृत्रिम अभाव सिर्जना गरिएको आशङ्कामा तीन दिनदेखि बजार अनुगमनलाई तीव्र पारेको जनाएको छ ।

प्रकाशित मिति: २१ फाल्गुन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्