अन्तत श्रीमतीलाई भान्से राखेर तलब खुवाएका उपमेयरले फिर्ता गरे ९६ हजार


 


 ताप्लेजुङ्ग फागुन २२ 

ताप्लेजुङको फुङलिङ नगरपालिकाका उपमेयर बमबहादुर भट्टराईले श्रीमतीलाई भान्से नियुक्त गरेर खुवाउँदै आएको तलब एकमुष्ट फिर्ता गरेका छन् । उपमेयर भट्टराईले १ साउनदेखि श्रीमती बालकुमारी कार्की भट्टराईलाई भान्से नियुक्त गरेर मासिक १५ हजार ५ सय ९० रुपैयाँका दरले अहिलेसम्म दिएको ९६ हजार रुपैयाँ फिर्ता गरेका हुन् ।

उपमेयर भट्टराईले मंगलबार आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी आफूबाट गल्ती भएको स्विकार्दै श्रीमतीले बुझेको ९६ हजार नगरपालिकाको सञ्चित कोष खातामा जम्मा गरेको बताए । समयमै ऐन, कानुन, नीतिनियम, कार्यविधि, निर्देशिका उपलब्ध नहुँदा गल्ती भएको उनले बताएका छन् ।

सरकारी रकमले निजी घर रंग्याउने र सालीलाई भान्से राख्ने मेयर भन्छन्, ‘गल्ती भएका छन्, सच्याउँदै जान्छौँ’
मेयर छत्रपति प्याकुरेलले जानी–नजानी कतिपय गल्ती भएकाले सच्याउँदै जाने बताए । पहिलो जनप्रतिनिधि भएका कारण नियम–कानुन नबुझेर पनि गल्ती भएको उनको भनाइ छ । ‘सबै अडिट रिपोर्ट हामीले हेरेका छैनौँ, बेरुजु देखिएको रकम तिर्छौँ,’ उनले भने । प्याकुरेलले स्थानीय कुमार मादेनलाई नियमविपरीत सल्लाहकार नियुक्त गरी गत आर्थिक वर्षमा मात्रै तीन लाख भुक्तानी दिएको, आफ्नो निजी घर मर्मतमा सरकारी कोषको ९ लाख खर्च गरेको र साली मथुरा श्रेष्ठलाई कार्यालय सहयोगीका रूपमा नियुक्त गरेर घरमा भान्से बनाएको समाचार नयाँ पत्रिकामा छापिएको थियो ।

मंगलबार नै नगर कार्यसमितिको बैठक पनि बसेको छ । बैठकले गल्ती–कमजोरी सुधारेर जाने निर्णय गरेको विज्ञप्तिमार्फत जनाएको छ । प्रारम्भिक अडिट रिपोर्ट अध्ययन गरी त्यहाँ
भएका कमी–कमजोरी सच्याएर अघि बढ्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।
वास्तविकता सार्वजनिक गर्न विद्यार्थीको २४ घन्टे अल्टिमेटम
यसैबीच, अनेरास्ववियुले मेयर प्याकुरेललाई ज्ञापनपत्र बुझाउँदै सञ्चारमाध्यममा आएको अनियमितताबारे यथार्थ सार्वजनिक गर्न २४ घन्टे अल्टिमेटम दिएको छ । सत्यतथ्य बाहिर नल्याए नगरपालिकामा तालाबन्दी गर्ने चेतावनी विद्यार्थीले दिएका छन् ।

प्रकाशित मिति: २२ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्