नाटकीय ढंगले किन फेरिन् निर्मलाकी आमाले बयान ?


 


कञ्चनपुर । निर्मला बलात्कार तथा हत्याकाण्डमा नाटकीय मोड देखा परेको छ । यसअघि प्रहरीले अनुसन्धानमा लापरवाही गरेको र वास्तविक दोषी लुकाएको भन्दै न्यायका लागि याचना गरिरहेकी निर्मलाकी आमा दुर्गादेवी पन्तले नै नाटकीय ढंगले बयान फेरेकी छन् ।

उनी आफैले प्रमाण मेटाएको र अनुसन्धानमा लापरबाही गरेको तथा निर्दोषलाई थुनामा राखी यातना दिएको लगायत अभियोग लगाउँदै जिल्ला अदालत कञ्चनपुरमा आठ जना प्रहरीविरुद्ध मुद्दा हालेकी थिइन् । तर एकाएक उनले ती प्रहरीहरु निर्दोष रहेको आशयको निवेदन हालेपछि उनी आफै शंकाको घेरामा परेकी छन् । यससँगै जिल्ला अदालत कञ्चनपुरले सो प्रकरणमा मुछिएका ६ प्रहरीलाई धरौटीमा रिहा गर्न आदेश दिइसकेको छ भने तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र सीआइबीका डिएसपी अंगुर जिसी फरार रहेकाले उनीहरुको हकमा अदालतको निर्णय हुन बाँकी छ ।

दुर्गादेवीकै भूमिका शंकास्पद

यसअघिका अभियोग फिर्ता लिने आशयको निवेदन अदालतमा दिएपछि निर्मलाकी आमा दुर्गादेवी एकाएक किन परिवर्तन भइन् भन्ने सर्वत्र चर्चाको विषय बनेको छ । ३ पुसमा दुर्गादेवी स्वयं उपस्थित भएर जिल्ला प्रहरी कार्यालयमा तत्कालीन एसपी डिल्लीराज विष्टसहितका आठ प्रहरीविरुद्ध उनले जाहेरी दिएकी थिइन् । यसमा प्रहरीले यातना दिएको दिलिपसिंह विष्टका परिवारको पनि साथ थियो ।

तर, प्रकाउ परेका ६ जना र फरार २ जना प्रहरी अधिकारीविरुद्ध सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दायर गरेकै दिन दुर्गाले उनीहरुलाई कारबाही नगर्न अदालतमा निवेदन दिएको खुलासा भएको छ । दुर्गाको यो नाटकीय कदम आश्चर्यजनक मात्रै होइन शंकास्पद समेत मानिएको छ ।

दुर्गादेवीले प्रहरीले प्रमाण मेटाएको आफूलाई थाहा नभएको र बलात्कारी आफ्नै घर वरिपरि घुमिरहेको भन्दै पक्राउ गरेर सजाय दिन कञ्चनपुर प्रहरीसामु अनुरोध गरेकी छिन् । उनले सुरुवातमा पक्राउ परेका र पछि डिएनए नमिलेर छुटेका दिलिपसिंह विष्टलाई नै इंगित गरी दोषी ठहर गरेकी छन् । जबकि विगतमा तिनै दुर्गादेवीले दिलिपसिंह निर्दोष रहेको र वास्तविक अपराधी प्रहरीले नै लुकाएको आशयका अभिव्यक्ति दिने गरेकी थिइन् ।

स्थानीयस्तरदेखि काठमाडौँसम्म आएर वास्तविक दोषी प्रहरीले लुकाएको र आफूले न्याय पाउनुपर्ने भनी आवाज उठाउँदै आएकी दुर्गादेवीले एकाएक आफ्नो बयान फेर्दै प्रहरीकै बचाउमा लाग्नुले अनेक आशंका उत्पन्न भएका छन् । कतिपयले उनलाई प्रलोभनमा पारेको या त्रासमा पारेर बयान फेर्न लगाइएको हुनसक्ने आँकलन गरेका छन् । प्रहरीको बचाउमा जाहेरी दिएपछि उनले आफूले यसअघि अरुका उक्साहट र दाबावमा लागेर काम गरेको तर अब झुटो बोलेर आफ्नै छोरीमाथि अन्याय गर्न नसक्ने सञ्चारकर्मीसँग बताउन थालेकी छन् ।

प्रकाशित मिति: १ चैत्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्